EN
मेनु
Flash News

एनपीएलको लिग चरण समाप्त, प्लेअफमा चार टोलीबीच प्रतिस्पर्धा हुने

काठमाडौं।राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत लिग चरणका सम्पूर्ण खेल सम्पन्न भएका छन्। लिग चरणका खेल सकिएसँगै आज प्रतियोगितामा विश्राम दिइएको छ।

लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान पक्का गरेका छन्।

प्लेअफअन्तर्गत पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल भोलि आयोजना हुनेछ। पहिलो क्वालिफायरको विजेता टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ भने पराजित टोलीले दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अर्को अवसर पाउनेछ।

त्यस्तै, इलिमिनेटर खेलमा काठमाडौं गोर्खाज र चितवन राइनोज आमनेसामने हुनेछन्। पर्सि हुने उक्त खेलमा पराजित हुने टोलीको प्रतियोगिताबाट यात्रा समाप्त हुनेछ भने विजेता टोली दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ।

अब उपाधि होडमा रहेका चार टोलीबीचको प्रतिस्पर्धाले एनपीएलको रोमाञ्चकता थप बढाउने अपेक्षा गरिएको छ।