काठमाडौं।कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले चीनका पारिस्थितिकी तथा वातावरणमन्त्री ह्वाङ रुनछ्युसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा बिहीबार भएको भेटवार्तामा नेपालले प्रस्ताव गरेको हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापनाका लागि चीनको सहयोग र समर्थन माग गरिएको हो ।
भेटका क्रममा मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम नेपाल र चीनबीचको साझा सीमापार चुनौती भएको उल्लेख गर्दै यसको प्रभाव न्यूनीकरणका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको बताउनुभयो ।
उहाँले गत अगस्ट २६ मा रसुवा–भोटेकोसी क्षेत्रमा आएको विपद्पछि चीनले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । साथै, माथिल्लो तटीय क्षेत्रमा मौसम, हिमनदी तथा हिमतालबाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी नियमित सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री चौधरीले कोप–३१ का निर्णयहरूमा पर्वतीय क्षेत्रका मुद्दालाई प्राथमिकता दिनुपर्ने नेपालको धारणा प्रस्तुत गर्नुभयो । उहाँले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य हासिल गर्न तथा जलवायु अनुकूलनका लागि पर्याप्त वित्तीय स्रोत सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भेटवार्तामा हिमाली क्षेत्रको जलवायु जोखिम न्यूनीकरण, विपद् पूर्वसूचना प्रणाली तथा क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।







