EN
मेनु
Flash News

भाइटीकाको विश्रामपछि पुनःसुरु हुँदै एनपीएल,आज दुई खेल

काठमाडौं।नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज दुई महत्वपूर्ण खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सको सामना गर्दा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच पनि प्रतिस्पर्धा हुनेछ।

आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्स दिउँसो १२ः३० बजे आमनेसामने हुनेछन्। दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स साँझ ५ बजे मैदान उत्रनेछन्।

अङ्क तालिकामा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स समान ८ अङ्कसहित शीर्ष दुई स्थानमा छन्। चार जित र एक हार बेहोरेको काठमाडौं गोर्खाज नेट रनरेटका आधारमा शीर्ष स्थानमा रहँदा सुदूरपश्चिम दोस्रो स्थानमा छ।

तीन जित, एक हार र एक खेलमा नतिजाविहीन रहेको लुम्बिनी लायन्स ७ अङ्कसहित तेस्रो स्थानमा छ। त्यस्तै, चितवन राइनोज ५ अङ्कसहित चौथो स्थानमा रहँदा जनकपुर बोल्ट्स र विराटनगर किंग्स समान ४ अङ्कका साथ क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन्।

कर्णाली याक्स पनि ४ अङ्कसहित सातौँ स्थानमा छ भने पाँच खेलमध्ये एक खेलमा मात्र जित निकालेको पोखरा एभेन्जर्स तालिकाको पुछारमा रहेको छ।

यसअघि भाइटीकाका अवसरमा हिजोका खेल स्थगित गरिएको थियो। एक दिनको विश्रामपछि आजबाट प्रतियोगिता पुनः सञ्चालन हुन लागेको हो। आजका दुवै खेलले अङ्क तालिकाको समीकरणमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।