EN
मेनु
Flash News

एनपीएल : सुदूरपश्चिम र जनकपुरबीच आज निर्णायक भिडन्त, कसले मार्ला बाजी?

काठमाडौं।नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज मंगलबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेल दुवै टोलीका लागि प्लेअफ यात्राको दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।

५ खेलबाट ६ अंक जोडेको सुदूरपश्चिम अंकतालिकाको तेस्रो स्थानमा छ । पछिल्ला दुई खेलमा लगातार जित हात पारेको टोली आज पनि जितको लयलाई निरन्तरता दिने योजनामा हुनेछ । यता ५ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा रहेको जनकपुर लगातार दुई हारको शृङ्खला अन्त्य गर्दै प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा मैदान उत्रनेछ ।

व्यक्तिगत प्रदर्शनमा सुदूरपश्चिमका इशान पाण्डेले प्रतियोगितामा सर्वाधिक ९२ रन बनाएका छन् भने अनिल खरेलले ७ विकेट लिएका छन् । जनकपुरका सैफ हसनले १४० रन बनाउँदा राहुल यादवले ८ विकेट हात पारेका छन् । यी खेलाडीको प्रदर्शन आजको प्रतिस्पर्धामा निर्णायक बन्न सक्नेछ ।

हेड टु हेड नतिजामा सुदूरपश्चिम जनकपुरमाथि हाबी देखिएको छ । दुई टोलीबीच भएका पछिल्ला चार खेलमध्ये सुदूरपश्चिमले तीन खेल जित्दा जनकपुरले एक खेलमा मात्रै सफलता पाएको छ ।

आजको खेलमा जित निकाल्न सके सुदूरपश्चिमको खातामा ८ अंक पुग्नेछ भने जनकपुरले जिते ६ अंक बनाउनेछ । त्यसैले अंकतालिकामा आफ्नो स्थिति सुधार गर्न र प्लेअफ सम्भावना मजबुत बनाउन दुवै टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।