EN
मेनु
Flash News

पोखरामा प्रतिबन्धित प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमाथि अनुगमन, ६ हजारभन्दा बढीका सामग्री नष्ट

कास्की।तिहार नजिकिँदै गर्दा पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य कृत्रिम फूलमाला तथा सजावटका सामग्री बिक्रीवितरण गर्ने पसलमाथि बजार अनुगमन तीव्र बनाएको छ । स्थानीयस्तरमा उत्पादित प्राकृतिक फूलमालाको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यसहित महानगरले अनुगमन अभियानलाई प्राथमिकता दिएको हो ।

सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्रीवितरण तथा भण्डारणमा प्रतिबन्ध लगाए पनि बजारमा यस्ता सामग्री बिक्रीका लागि राखिएको पाइएपछि महानगरले अनुगमन गरेको जनाएको छ ।

महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरा महानगरपालिका–१ र २ अन्तर्गत विन्ध्यवासिनी तथा बगर क्षेत्रका नौ वटा पूजा सामग्री र झिलिङ्गा पसलमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा ६ हजार २८० रुपैयाँ बराबरका प्लास्टिकका माला, फूल तथा बेकरी सजावटका सामग्री नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।

अनुगमनका क्रममा प्लास्टिकका माला, लेबल उल्लेख नभएका भाइमसला तथा रङ प्रयोग गरिएका झिलिङ्गा बिक्रीका लागि राखिएको पाइएको प्रमुख कडरियाले बताए । प्रतिबन्धित सामग्री नियन्त्रणमा लिएर नष्ट गरिएको उनको भनाइ छ ।

महानगरपालिकाले विगत तीन वर्षदेखि प्लास्टिकजन्य फूलमालाको बिक्रीवितरण रोक्न अभियान सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि औपचारिक सूचना जारी गरी त्यस्ता सामग्री बिक्री नगर्न व्यवसायीलाई आग्रह गरिएको थियो ।

महानगरपालिकाका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा गरिएको अनुगमनका क्रममा व्यवसायीलाई प्रचलित कानुन तथा मापदण्ड पालना गर्न सचेत गराइएको थियो । साथै वस्तुको गुणस्तर र मूल्यमा पारदर्शिता कायम गर्न तथा म्याद गुज्रिएका सामग्री बिक्री नगर्न निर्देशन दिइएको थियो ।

उपप्रमुख गुरुङले प्लास्टिकजन्य फूलमालाको प्रयोगले वातावरण प्रदूषण बढाउने भएकाले यसको बिक्रीवितरण निरुत्साहित गर्न आवश्यक रहेको बताइन् । तिहारको समयमा यस्ता सामग्रीको बिक्री बढ्न सक्ने भएकाले अनुगमनलाई तीव्रता दिइएको उनले स्पष्ट पारिन् ।

उनका अनुसार कृत्रिम फूलमालाको विकल्पका रूपमा स्थानीयस्तरमा उत्पादित प्राकृतिक फूलमालाको प्रयोगलाई महानगरले प्रोत्साहन गर्दै आएको छ । फूलखेती गर्ने किसानलाई अनुदानलगायत सहयोग उपलब्ध गराउँदै स्वदेशी उत्पादनको प्रवर्द्धनमा जोड दिइएको छ ।

वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी प्लास्टिकजन्य फूलका गुच्छाको उत्पादन, आयात, बिक्रीवितरण तथा भण्डारणमा प्रतिबन्ध लगाएको छ । उक्त व्यवस्था उल्लङ्घन गर्नेहरूमाथि प्रचलित ऐनअनुसार जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।

वातावरण संरक्षण, उपभोक्ता हितको रक्षा तथा स्थानीय फूल उत्पादक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने पोखरा महानगरपालिकाले जनाएको छ ।