EN
मेनु
Flash News

टोखामा मासु व्यवसाय सञ्चालन गर्न मासु निरीक्षकको जाँच र आधिकारिक छाप अनिवार्य

काठमाडौं।टोखा नगरपालिकाले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनसम्बन्धी सूचना जारी गर्दै नगरपालिकाभित्र सञ्चालनमा रहेका सम्पूर्ण मासु व्यवसायीलाई तोकिएको कानुनी व्यवस्था अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ।

नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार आगामी २०८३ साल मंसिर १ गतेदेखि मासु जाँचसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याइने भएको छ। उपभोक्तालाई स्वस्थ, स्वच्छ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले पाँच जना मासु निरीक्षकसमेत तोकेको जनाएको छ।

सूचनामा मासु व्यवसाय सञ्चालन गर्ने सम्पूर्ण व्यवसायीले पशुको स्वास्थ्य परीक्षण तथा वधपूर्व निरीक्षणका लागि तोकिएका मासु निरीक्षकसँग अनिवार्य रूपमा सम्पर्क गर्नुपर्ने उल्लेख छ। पशु वधपश्चात् मासुको निरीक्षण गराई योग्य ठहर भई आधिकारिक छाप लगाइएको मासु मात्र बिक्री वितरण गर्नुपर्नेछ।

त्यस्तै, मासु निरीक्षणका लागि नगरपालिकाले तोकेका निरीक्षकसँग आवश्यक समन्वय तथा सम्पर्क गर्न, प्रचलित ऐन तथा नियमावलीबमोजिम आवश्यक अनुमति तथा इजाजतपत्र लिएर मात्र व्यवसाय सञ्चालन गर्न नगरपालिकाले आग्रह गरेको छ।

मासु पसलमा स्वच्छता, सरसफाइ तथा खाद्य सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य पालना गर्नुपर्ने सूचनामा उल्लेख छ। रोगी पशुको मासु तथा निरीक्षण नभएको वा आधिकारिक छाप नलगाइएको मासु बिक्री वितरण गर्न नपाइने पनि नगरपालिकाले स्पष्ट पारेको छ।

मासु निरीक्षकबाट हुने अनुगमन तथा निरीक्षण कार्यमा आवश्यक सहयोग गर्नसमेत व्यवसायीलाई अनुरोध गरिएको छ।

नगरपालिकाले कानुनी व्यवस्था उल्लंघन गरी मासु व्यवसाय सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने जनाएको छ।

नगरपालिकाले उपभोक्ताको स्वास्थ्य सुरक्षा, मासुको गुणस्तर कायम तथा व्यवस्थित मासु व्यवसाय प्रवर्द्धनका लागि जारी सूचनालाई गम्भीरतापूर्वक पालना गर्न सम्बन्धित सबै व्यवसायीलाई आग्रह गरेको छ।