काठमाडौं।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ । चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।
सुदूरपश्चिमको जितमा ब्राण्डन म्याकुलनले सर्वाधिक ४३ रनको योगदान दिए । त्यस्तै इशान पाण्डेले २५, शेरफान रदरफोर्डले अविजित २१ तथा आरिफ शेखले २० रन बनाए ।
बलिङतर्फ चितवनका रञ्जित कुमारले ३ विकेट लिए भने रिजन ढकाल र मौसम ढकालले समान १ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो । चितवनका लागि रवि भोपाराले सर्वाधिक ४९ रन बनाए । डेविड मलानले १६, अर्जुन साउद र सिकन्दर राजाले समान १५ तथा विवेक यादवले १७ रन जोडे ।
सुदूरपश्चिमका बलर स्कट कुगालानले २ विकेट लिए । हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान १ विकेट लिए ।
यस जितसँगै सुदूरपश्चिमले ४ खेलबाट ४ अंक जोडेको छ । यता, चितवन राइनोजको ३ खेलबाट ३ अंक रहेको छ ।







