EN
मेनु
Flash News

ग्राण्डी अस्पतालमा विश्व स्ट्रोक दिवस मनाइयो,समयमै उपचार गर्न चिकित्सकको सुझाव

काठमाडौँ।नेपालको पहिलो ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता प्राप्त ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीमा विश्व स्ट्रोक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

अक्टोबर २९ अर्थात् विश्व स्ट्रोक दिवसका अवसरमा आयोजित कार्यक्रममा अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट तथा मस्तिष्कघात उपचार निर्देशक डा. राजु पौडेलले स्ट्रोकको समयमै पहिचान र उपचार गर्न सके बिरामीको ज्यान बचाउनुका साथै अपांगताबाट समेत जोगाउन सकिने बताए ।

उनका अनुसार विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख मानिस स्ट्रोकबाट प्रभावित हुने गरेका छन् भने नेपालमा मात्रै वार्षिक ५० देखि ७५ हजार मानिस यसबाट प्रभावित हुने अनुमान छ ।

स्ट्रोक नसर्ने रोगमध्ये विश्वमै मृत्युको दोस्रो प्रमुख कारण रहेको उल्लेख गर्दै डा. पौडेलले रक्तचाप, मधुमेह र कोलेस्ट्रोल नियन्त्रणमा राख्न, धुम्रपान तथा मदिरापान त्याग्न र दैनिक कम्तीमा ४५ मिनेट हिँडडुल गर्न सुझाव दिए ।

त्यस्तै, चिल्लो पदार्थको सेवन घटाउने, सागसब्जी तथा स्वस्थकर खानेकुराको मात्रा बढाउने र नुनको प्रयोगमा सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।

डा. पौडेलले स्ट्रोकका लक्षण देखिएपछि साढे चार घण्टाभित्र बिरामीलाई अस्पताल पुर्‍याउन सके उपयुक्त उपचारमार्फत पक्षघातको जोखिम कम गर्न सकिने बताए । नेपालमा मुटुसम्बन्धी समस्याका कारण रगतको ढिक्का मस्तिष्कमा पुगेर स्ट्रोक हुने समस्या पनि धेरै देखिएको उनले जानकारी दिए ।

उनले देशका सबै प्रदेशमा मस्तिष्कघातको उपचारका लागि दक्ष जनशक्ति, प्रविधि र सुविधासम्पन्न अस्पतालको व्यवस्था गर्न सरकारसँग आग्रहसमेत गरे ।

ग्राण्डी अस्पतालले गत वर्ष विश्व स्ट्रोक संगठन (डब्लुएसओ) बाट उच्च प्रविधिसहितको मस्तिष्कघात उपचार केन्द्रका रूपमा ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता प्राप्त गरेको थियो । अस्पतालको उपचार सेवा र गुणस्तरलाई अन्तर्राष्ट्रिय मापदण्डका आधारमा मूल्यांकन गरी उक्त मान्यता प्रदान गरिएको हो ।

विश्व स्ट्रोक दिवसकै अवसरमा अस्पतालले हाजिरीजवाफ प्रतियोगितासमेत आयोजना गरेको थियो ।