काठमाडौं-ताजा इनिसिएटिभ नेपालले काठमाडौं उपत्यकाका १,२०० बासिन्दामाझ गरेको नयाँ सर्वेक्षणले वायु प्रदूषणप्रति नागरिकको चिन्ता उच्च रहेको देखाएको छ। सर्वेक्षणमा ५२.३ प्रतिशत उत्तरदाताले आफ्नो स्थानीय वायु गुणस्तरलाई खराबदेखि अति खराबसम्म मूल्यांकन गरेका छन्।
ललितपुरमा ६०.९ प्रतिशत, काठमाडौंमा ५९.२ प्रतिशत र भक्तपुरमा ५६ प्रतिशत उत्तरदाताले स्थानीय वायु गुणस्तरप्रति नकारात्मक धारणा व्यक्त गरेका छन्। उत्तर काठमाडौंमा भने यो दर ३५.९ प्रतिशत रहेको छ।

सर्वेक्षणअनुसार वायु गुणस्तर जाँच्ने तरिकाबारे जानकारीमा पनि ठूलो अन्तर देखिएको छ। प्राथमिक वा सोभन्दा कम शिक्षा भएका उत्तरदातामध्ये केवल १०.८ प्रतिशतले वायु गुणस्तर कसरी जाँच्ने भन्ने थाहा भएको बताएका छन् भने स्नातकोत्तर वा सोभन्दा माथिको शैक्षिक योग्यता भएकामध्ये यो दर ६३ प्रतिशत पुगेको छ।
१८–२४ वर्ष उमेर समूहमा डिजिटल माध्यमबाट वायु गुणस्तर निगरानी गर्ने प्रवृत्ति बढी देखिएको छ। यस समूहका ६०.३ प्रतिशतले वेबसाइट र ४२.५ प्रतिशतले मोबाइल एप प्रयोग गर्ने बताएका छन्। तर, यो उमेर समूहका सबैलाई सर्वेक्षणमा पर्याप्त प्रतिनिधित्व नगराइएको भन्दै तथ्यांकले अनुसन्धान वा निगरानीमा नसमेटिने व्यवहारको सम्भावना देखाएको छ।
वायु प्रदूषणको प्रमुख स्रोतका रूपमा ९८.६ प्रतिशत उत्तरदाताले मोटर सवारी तथा यातायातको धुवाँलाई पहिचान गरेका छन् भने ९४.८ प्रतिशतले सडक निर्माणबाट हुने धुलोलाई महत्वपूर्ण कारण मानेका छन्।


![]()
नीतिगत समाधानप्रति पनि नागरिकको समर्थन देखिएको छ। ७९.९ प्रतिशतले सार्वजनिक यातायात विस्तार र विद्युतीय गतिशीलता प्रवर्द्धनको समर्थन गरेका छन्। ७१.५ प्रतिशतले कडा धुलो नियन्त्रण उपाय तथा सहरी हरियाली विस्तारको पक्षमा मत दिएका छन्। यद्यपि, ७०.४ प्रतिशत उत्तरदाता वायु प्रदूषण न्यूनीकरणका सरकारी प्रयासप्रति असन्तुष्ट देखिएका छन्।
वायु प्रदूषणबाट बच्न ८२ प्रतिशतले सर्जिकल मास्क वा स्कार्फमा भर पर्ने बताएका छन् भने ४३.४ प्रतिशतले आफूलाई जोगाउन कुनै व्यक्तिगत कदम नचालेको बताएका छन्।
सर्वेक्षणले काठमाडौं उपत्यकाको बढ्दो प्रदूषणले स्वास्थ्यसँगै आर्थिक दबाबसमेत बढाउन सक्ने देखाएको छ। उपत्यकाको भीडभाड र प्रदूषणबारे सोधिएका उत्तरदातामध्ये ३९.१ प्रतिशतले खराब वायु गुणस्तरलाई उपत्यका छाड्ने प्रमुख कारणमध्ये एक मानेका छन् भने ४७.८ प्रतिशतले आर्थिक दबाब र महँगीलाई प्रमुख कारण बताएका छन्।
ताजा इनिसिएटिभ नेपालकी कार्यकारी निर्देशक रोजनी गिरीले सर्वेक्षणले नागरिकको धारणा र वास्तविक वायु गुणस्तरसम्बन्धी तथ्यांकबीच गम्भीर अन्तर देखाएको बताइन्। उनका अनुसार धेरै नागरिकले हावाको स्वास्थ्य जोखिम महसुस गरे पनि प्रदूषणको स्तर कसरी मापन गर्ने भन्नेबारे पर्याप्त जानकारी छैन।
गिरीका अनुसार संस्थाले आगामी दिनमा उपत्यकाभर वायु गुणस्तरसम्बन्धी अनुसन्धान, पहुँचयोग्य डेटा प्लेटफर्म र वायु गुणस्तर साक्षरता कार्यक्रम विस्तार गर्नेछ।







