काठमाडौं।नेपाली संगीत, कला र संस्कृतिलाई बेलायतमा प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘सुम्निमा साँझ’ आयोजना हुने भएको छ।आगामी अक्टोबर ९ गते बेलायतको एल्डरसटस्थित एम्पायर हलमा आयोजना हुने सांगीतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरूले प्रस्तुति दिने भएका छन्।
कार्यक्रममा मेलिना राई, रोशन राई, प्रताप दास, पार्वती राई, सबिना योङहाङ, जानुका राई, अप्सरा घिमिरे लगायतका कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ।अभिनेत्री रजनी गुरुङको समेत विशेष प्रस्तुति रहने बताइएको छ।
‘द भ्वाइस अफ नेपाल’सँग जोडिएका मेलिना राई र रोशन राईलाई एउटै मञ्चमा प्रस्तुत गराउने तयारीले कार्यक्रमप्रति थप आकर्षण बढाएको आयोजकको भनाइ छ। मेलिना उक्त कार्यक्रमको एक सिजनमा कोचको भूमिकामा रहेकी थिइन् भने रोशन सोही सिजनका उपविजेता हुन्।
कार्यक्रमको सञ्चालन सुशील नेपालले गर्नेछन्। कलाकार तथा सांगीतिक कार्यक्रमको नेपालतर्फको समन्वय ईफ्लेक्स इन्टरटेनमेन्टका प्रोप्राइटर अजेश पौडेलले गरिरहेका छन्। बेलायतमा व्यवसाय गर्दै आएका सचिन बुढाथोकी र रमेश श्रेष्ठ पनि आयोजनामा जोडिएका छन्।
सुम्निमा इभेन्ट, लुङ्टो क्रिएसन, ईफ्लेक्स इन्टरटेनमेन्ट र इनाश यूकेको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रम मनोरञ्जनमा मात्र सीमित नरहने आयोजकले जनाएको छ।
कार्यक्रमबाट संकलित रकममध्ये ५ प्रतिशत भोटेकोशी र रसुवाका बाढीपीडित परिवारको सहयोगमा खर्च गरिने आयोजकले जनाएको छ। यसले कार्यक्रमलाई सांगीतिक प्रस्तुतिसँगै सामाजिक उत्तरदायित्वसँग पनि जोड्ने अपेक्षा गरिएको छ।
बेलायतमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै आयोजना हुन लागेको ‘सुम्निमा साँझ’मार्फत नेपाली संगीत, कला र संस्कृतिको प्रवर्द्धनसँगै प्रवासमा नेपाली सांगीतिक वातावरण निर्माण गर्ने आयोजकको उद्देश्य छ।




