EN
मेनु
Flash News

रारा चाउचाउ गुणस्तरहीन प्रमाणित, बजारबाट तत्काल फिर्ता गर्न विभागको आदेश

काठमाडौं । रारा ब्रान्डको तयारी चाउचाउ गुणस्तरहीन प्रमाणित भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त उत्पादन बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ।

विभागका अनुसार बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको रारा चाउचाउको नमुना प्रयोगशालामा परीक्षण गर्दा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्डअनुसार न्यूनस्तरको पाइएको हो।

उक्त चाउचाउ पोखरास्थित हिमश्री फुड्स प्रालिले उत्पादन गर्दै आएको छ। प्रयोगशाला परीक्षणबाट उत्पादन तोकिएको मापदण्डअनुसार नभएको पाइएपछि विभागले सम्बन्धित उत्पादकलाई उक्त ब्याचका चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।

त्यस्तै, विभागले सो उत्पादनको बिक्री–वितरण नगर्न तथा नगराउन समेत आदेश दिएको जनाएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को सम्बन्धित प्रावधानअनुसार विभागले यस्तो निर्देशन दिएको हो।

यसअघि पनि रमपम चाउचाउ गुणस्तरहीन प्रमाणित भएको विषय सार्वजनिक भएको थियो। रमपमपछि रारा चाउचाउसमेत गुणस्तर परीक्षणमा न्यूनस्तरको देखिएपछि बजारमा बिक्री भइरहेका तयारी चाउचाउको गुणस्तरबारे थप प्रश्न उठेको छ।

विभागले बजारमा बिक्री भइरहेका खाद्य वस्तुको नियमित अनुगमन तथा नमुना परीक्षण गर्दै आएको जनाएको छ। गुणस्तर मापदण्ड पूरा नगरेका खाद्य पदार्थमाथि कानुनअनुसार कारबाही हुने विभागको भनाइ छ।