EN
मेनु
Flash News

मोरङ–६ कांग्रेस अधिवेशनमा झडप, दर्जनौँ कुर्सी तोडफोड

सुन्दरहरैँचा।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ को अधिवेशनस्थलमा बुधबार झडप भएको छ। सुन्दरहरैँचा–४ स्थित सिक्देल बन्धु समन्वय प्रतिष्ठानमा मनोनयन दर्ताका क्रममा विवाद बढेपछि झडप भएको हो।

प्रतिनिधिको नामावलीमा एक महिलाको नाम समावेश नभएको विषयबाट विवाद सुरु भएको बताइएको छ। माइन्युट लेख्ने क्रममा ती महिलाले आफ्नो नाम छुटेको विषयमा प्रश्न उठाएपछि विवाद चर्किएको र केही व्यक्तिले अधिवेशनस्थलमा तोडफोड गरेको प्रत्यक्षदर्शीको भनाइ छ।

विवाद बढ्दै गएपछि दुई पक्षबीच हात हालाहाल भएको थियो। झडपमा केही व्यक्ति घाइते भएका छन्। घाइतेलाई उपचारका लागि अस्पताल लगिएको भए पनि घाइतेको संख्या भने यकिन हुन सकेको छैन।

घटनाका क्रममा महाधिवेशन प्रतिनिधिका उम्मेदवार डिला संग्रौला उठेर बाहिर निस्किएको प्रत्यक्षदर्शीले बताएका छन्। क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तबदार, चेतराज रेग्मी र समुन्द्र पोखरेलमाथि समेत कुटपिट भएको बताइएको छ।

झडपका क्रममा अधिवेशनस्थलका करिब ५० देखि ६० वटा कुर्सी तोडफोड भएको जनाइएको छ।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो। मोरङ प्रहरीका डीएसपी मिश्रका अनुसार अहिले अधिवेशनस्थलको अवस्था सामान्य रहेको छ।

झडपपछि निर्धारित मनोनयन दर्ता प्रक्रिया प्रभावित भएको छ। निर्वाचन प्रक्रिया रोकिएसँगै मनोनयन दर्ता कहिले र कसरी अघि बढाउने भन्ने विषयमा अन्योल उत्पन्न भएको छ।

कांग्रेसको आन्तरिक निर्वाचन प्रक्रियाका क्रममा भएको विवादले अधिवेशनस्थलमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।