EN
मेनु
Flash News

युएईमा थारु कल्याणकारीणी सभाले अक्टोबर ४ मा जितिया पर्व मनाउने

सूर्य खवास,युएई

युएई- थारु कल्याणकारीणी सभा युएईले थारु समुदायको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व जितिया विशेष कार्यक्रम आयोजना गरी मनाउने भएको छ।

‘थारु कला संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्थापित सभाले आगामी अक्टोबर ४ तारिखका दिन हाम्रो माइतीघर, पुल स्टार क्याफेको प्रेक्षालयमा विविध सांस्कृतिक कार्यक्रमसहित जितिया पर्व मनाउन लागेको हो।

प्रवासमा रहेका थारु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कार तथा सांस्कृतिक विरासतसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

थारु समुदायमा जितिया पर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ। विशेषगरी महिलाहरूले आफ्ना सन्तानको सुख, स्वास्थ्य, दीर्घायु तथा समृद्धिको कामना गर्दै व्रत बस्ने र पूजा–आराधना गर्ने परम्परा रहेको छ। जितिया पर्वलाई पौराणिक पात्र जिमुतवाहनसँग सम्बन्धित कथासँग जोडेर हेर्ने गरिन्छ।

पर्वका अवसरमा महिलाहरू सामूहिक रूपमा भेला भई पूजा–आराधना गर्ने, जितियासँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक कथा सुन्ने र विभिन्न सांस्कृतिक गतिविधिमा सहभागी हुने गर्छन्।यसले पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै समुदायबीच आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई मजबुत बनाउने विश्वास गरिन्छ।

युएईमा आयोजना हुन लागेको जितिया पर्वले प्रवासमा रहेका थारु समुदायलाई आफ्नो मौलिक भाषा, संस्कृति, परम्परा र पहिचानसँग जोड्ने महत्वपूर्ण अवसर प्रदान गर्ने आयोजकको भनाइ छ। यस्ता कार्यक्रमले नयाँ पुस्तालाई थारु समुदायको इतिहास, संस्कार र सांस्कृतिक परम्पराबारे परिचित गराउनसमेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

थारु कल्याणकारीणी सभा युएईले कार्यक्रममा थारु समुदायका साथै विभिन्न नेपाली संघसंस्था, शुभेच्छुक तथा संस्कृतिप्रेमीहरूलाई सहभागी भई जितिया पर्वको सांस्कृतिक उत्सवमा साथ दिन आह्वान गरेको छ।