मनाङ।मनाङस्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी खोटाङका एक आरोहीको निधन भएको पुष्टि भएको छ। निधन हुनेमा ऐसेलुखर्क गाउँपालिका–३, खोटाङका ४४ वर्षीय घनश्याम राई रहेका छन्।
हिमलुङ हिमालमा गएको हिमपहिरोका कारण राईसहित अन्य आरोही तथा सहयोगीहरू प्रभावित भएका थिए। घटनापछि गरिएको खोज तथा उद्धारका क्रममा घनश्याम राईको शव फेला परेको र पहिचान भएको जनाइएको छ।
यसै घटनामा ऐसेलुखर्क गाउँपालिका–३ कै सुरज राई र लवकुमार गुरुङ अझै सम्पर्कविहीन रहेको स्थानीय स्रोतले जनाएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायबाट प्रयास भइरहेको बताइएको छ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका अनुसार हिमलुङ हिमालमा भएको घटनामा हालसम्म ४ जनाको शव पहिचान भएको छ भने १२ जना सम्पर्कविहीन रहेका छन्।
घटनाबारे थप विवरण तथा बेपत्ताहरूको खोजी कार्य जारी रहेको जनाइएको छ।
स्वर्गीय घनश्याम राईप्रति हार्दिक श्रद्धाञ्जली। साथै, बेपत्ता सुरज राई, लवकुमार गुरुङलगायत सबैको सकुशल उद्धारको कामना।



