EN
मेनु
Flash News

हङकङका पहिलो नेपाली रेस्टुरेन्ट व्यवसायी त्रिलोक विश्वकर्माको निधन

हङकङ- हङकङका पहिलो नेपाली रेस्टुरेन्ट व्यवसायी तथा नेपाली समुदायका अगुवा त्रिलोक विश्वकर्माको निधन भएको छ। करिब ६५ वर्षको उमेरमा उनको सोमबार साँझ हङकङस्थित चुङक्वानओ अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

शरीरमा रगत नबन्ने एनिमियाबाट पीडित विश्वकर्मा लामो समयदेखि उपचाररत थिए। सोमबार उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन परिवारका सदस्य तथा साथीभाइ अस्पताल पुगेका थिए। हङकङ समयअनुसार राति करिब ९ बजे चिकित्सकले उनको निधन भएको जानकारी दिएको अस्पतालमा रहेका एक आफन्तले बताएका छन्।

नेपालमा पुख्र्यौली घर गुल्मी रहेका विश्वकर्मा ब्रिटिस गोर्खा सैनिक परिवारमा जन्मिएका थिए। ब्रिटिस सेनामा सुवेदार रहेका उनका बाबाका जेठा छोरा विश्वकर्माको जन्म हङकङमै भएको थियो।

हङकङमा नेपाली रेस्टुरेन्ट व्यवसायको सुरुवात

विश्वकर्मालाई हङकङमा नेपाली रेस्टुरेन्ट व्यवसाय सुरु गर्ने पहिलो नेपालीका रूपमा चिनिन्छ। गोर्खा हाइस्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि उनले होटल व्यवस्थापनसम्बन्धी अध्ययन गरेका थिए। त्यसपछि उनी रेस्टुरेन्ट व्यवस्थापन क्षेत्रमा प्रवेश गरेका थिए।

उनको पहिलो व्यावसायिक यात्रा चुङकिङ मेन्सनको पहिलो तलामा बब मेहतासँगको साझेदारीमा सञ्चालन गरिएको ‘स्वागत रेस्टुरेन्ट’बाट सुरु भएको थियो। साझेदारी लामो समय टिक्न नसकेपछि उनले सन् १९८८ तिर चिमसाचोइको मोदी रोडस्थित भूमिगत तलामा ‘सूर्य रेस्टुरेन्ट’ सञ्चालनमा ल्याएका थिए।

सूर्य रेस्टुरेन्ट नेपाली खानाका लागि हङकङमा परिचित बनेको थियो। पछि विश्वकर्माले आफ्नो व्यवसाय विस्तार गर्दै युनलुङदेखि कजवे बे र सेन्ट्रलसम्म विभिन्न स्थानमा रेस्टुरेन्ट, गेस्ट हाउस तथा सुपरमार्केट सञ्चालन गरेका थिए।

सन् १९९० को मध्यतिरसम्म उनको स्वामित्व वा संलग्नतामा पाँचवटा रेस्टुरेन्ट, तीनवटा गेस्ट हाउस र दुईवटा सुपरमार्केट सञ्चालनमा रहेको बताइन्छ।

नेपाली समुदायमा विशेष योगदान

विश्वकर्माले हङकङमा नेपाली तथा भारतीय समुदायका विभिन्न व्यक्तिलाई रोजगारी र व्यावसायिक अवसर उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनले म्यानेजर, सेफ, गायक तथा संगीतकारका रूपमा नेपाली र भारतीय नागरिकलाई हङकङ ल्याउनसमेत पहल गरेका थिए।

हङकङ भ्रमणमा आएका नेपालका विभिन्न राजनीतिक तथा सार्वजनिक व्यक्तित्वहरूले समेत विश्वकर्माको सूर्य रेस्टुरेन्टमा खानपिन तथा आतिथ्य ग्रहण गरेका थिए। पूर्वप्रधानमन्त्रीहरू कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललगायतका व्यक्तित्वहरू उनको रेस्टुरेन्टमा पुगेका थिए।

यद्यपि, नेपाली समुदायमा लामो समयसम्म परिचित रहेको सूर्य रेस्टुरेन्ट अहिले अस्तित्वमा छैन।

विश्वकर्माको निधनसँगै हङकङमा नेपाली व्यवसायको प्रारम्भिक विकासमा महत्वपूर्ण भूमिका खेलेका एक व्यवसायीको निधन भएको नेपाली समुदायले जनाएको छ।

उनको श्रीमती र एक छोरा हङकङमै रहेका छन्।

विश्वकर्माको निधनप्रति हङकङस्थित नेपाली समुदाय, आफन्त तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ।