काठमाडौं।नेपाल आइडल सिजन–५ का विजेता गायक करण परियारले प्रतियोगिता जितेको करिब दुई वर्ष बितिसक्दा पनि आफूले पाउनुपर्ने विनिङ प्राइजको रकम प्राप्त नगरेको दाबी गरेका छन्।
एक पोडकास्टमा कुराकानी गर्दै परियारले नेपाल आइडलको विजेता बनेपछि आफूले पाउनुपर्ने पुरस्कार रकम हालसम्म नपाएको बताएका हुन्।उनले पुरस्कार रकम नपाएको विषय पहिलोपटक सार्वजनिक रूपमा उठाएका छन्।

![]()

नेपाल आइडल सिजन–५ को विजेता बनेपछि करण परियार नेपाली सांगीतिक क्षेत्रमा चर्चामा आएका थिए। प्रतियोगिताबाट प्राप्त लोकप्रियतालाई निरन्तरता दिँदै उनले विभिन्न सांगीतिक कार्यक्रम तथा गीतमार्फत आफ्नो सांगीतिक यात्रा अघि बढाइरहेका छन्।
तर, प्रतियोगिता जितेबापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम लामो समयसम्म नपाएको उनको दाबीले नेपाल आइडलको पुरस्कार व्यवस्थापन र विजेतासँग गरिएका प्रतिबद्धताबारे प्रश्न उठाएको छ।


परियारले रकम प्राप्त नभएको बताए पनि पुरस्कार रकम उपलब्ध हुन नसक्नुको कारणबारे नेपाल आइडलको आयोजक पक्षबाट हालसम्म स्पष्ट धारणा सार्वजनिक भएको जानकारी छैन।
करणको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा समेत यस विषयमा विभिन्न प्रतिक्रिया आउन थालेका छन्। अब आयोजक पक्षले पुरस्कार रकमका सम्बन्धमा के जवाफ दिन्छ भन्ने चासोको विषय बनेको छ।
सम्बन्धित पक्षको आधिकारिक प्रतिक्रिया आएपछि यस विषयमा थप स्पष्टता आउने अपेक्षा गरिएको छ।



