काठमाडौं।नेपाली चलचित्र ‘हाम्रो सानो घर’ मा अभिनेत्री पूर्णिका सिजापति मुख्य अभिनेत्रीका रूपमा अनुबन्धित भएकी छन्। निर्देशक तथा लेखक सुमन गजमेरको निर्देशनमा निर्माण हुन लागेको चलचित्रमा पूर्णिकाको प्रवेशसँगै कलाकार छनोट प्रक्रिया थप तीव्र बनाइएको निर्माण पक्षले जनाएको छ।
पूर्णिका सिजापति नेपाली मोडलिङ क्षेत्रमा परिचित नाम हुन्। उनले १६ वर्षको उमेरदेखि मोडलिङ यात्रा सुरु गरेकी थिइन्। कक्षा ११ मा अध्ययनरत रहँदै उनले मोडलिङमा प्रवेश गरेकी थिइन् र ‘फेस अफ टिन २०२१’ को उपाधि जितेकी थिइन्। त्यसपछि उनले ‘फेस अफ क्लासिक डायमन्ड २०२४’ को उपाधिसमेत हासिल गरेकी छन्।
मोडलिङसँगै कन्टेन्ट क्रिएसनमा सक्रिय पूर्णिकाले विभिन्न फेसन तथा ब्रान्डसँग सहकार्य गर्दै आएकी छन्। पछिल्लो समय उनी नेपाली चलचित्र क्षेत्रमा पनि सक्रिय बनेकी छन्। उनी अभिनित चलचित्र ‘आचार्य’ प्रदर्शनको तयारीमा रहेको छ, जहाँ उनले नेपाली कलाकारका साथै बलिउड र दक्षिण भारतीय कलाकारहरूसँग स्क्रिन सेयर गर्ने अवसर पाएकी छन्।
निर्माण पक्षका अनुसार ‘हाम्रो सानो घर’ को अन्य कलाकार तथा प्राविधिक टोलीबारे पनि चाँडै जानकारी सार्वजनिक गरिनेछ। चलचित्रको कथा र निर्माण तयारीलाई लिएर दर्शकमाझ उत्सुकता बढ्दै गएको छ।


