भाटभटेनी सुपरमार्केट्सले बाढी पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोगको घोषणा – Sagarmathapana:: Online News Portal

भाटभटेनी सुपरमार्केट्सले बाढी पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोगको घोषणा

   २०८१ आश्विन १५ गते  

काठमाडौं –पछिल्लो अविरल वर्षामा हजारौँ नागरिक विस्थापित हुने अवस्था आएको भन्दै  भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

कम्पनीका अध्यक्ष मिनबहादुर गुरुङले सो सहयोग बाढी पीडितको उद्धार र राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा प्रदान गर्न लागेको बताए ।उनले पछिल्लो अविरल वर्षामा हजारौं नागरिक विस्थापित हुने अवस्था आएको भन्दै सरकारी राहत कोषमा सहयोग जम्मा गर्न लागेको बताए ।

 भाटभटेनीका सीओओ पानु पौडेलले घोषणा गरिएको रकम सरकारलाई हस्तान्तरण गरिने बताए ।

बिहीबारदेखि परेको अविरल वर्षापछि देशभरि १९३ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ भने अझै पनि ३५ जना बढी बेपत्ता छन् । अर्बौँ रुपैयाँको क्षति भएको हुँदा मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व पनि भएको उनको प्रतिक्रिया छ ।

गुरुङले यसअघि डा भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल निर्माणका लागि ४१ करोड रुपैयाँ बराबरको सहयोग गरेका थिए । उक्त अस्पताल अहिले निर्माणाधीन अवस्थामा छ ।

त्यसअघि २०६८ सालमा त्रिवि शिक्षण अस्पतालमा दुई वटा भवन निर्माण गरिदिएका थिए । साथै उनले ११ करोड लागतमा इमर्जेन्सी भवन बनाइदिएका थिए भने ईएचएस भवन १५ करोड लागतमा तयार पारिदिएका थिए ।

उनले अहिलेसम्म १४ जनालाई एमबीबीएसको अध्ययन पनि गराएका छन् ।उनकै सहयोगका कारण रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालीकोटका १४ जनाले डाक्टरको रुपमा स्थानीय तहका अस्पतालमा कार्य गरिरहेका छन् ।उनीहरुको पढाइको सम्पूर्ण खर्च भाटभटेनीले नै व्यहोरेको थियो ।

अघिल्लो वर्ष जाजरकोटमा गएको भूकम्पपछि उनीहरुको उद्धार र राहतका लागि उनले १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका थिए । त्यसबाहेक ८० लाख रुपैयाँबराबरको खाद्यान्न उक्त क्षेत्रमा पठाएका थिए ।कोभिडका बेला पनि संघीय सरकारसहित सातै प्रदेशमा उनले सहयोग हस्तान्तरण गरेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै