काठमाडौं।ईसेवा र सिटिजन्स बैंक इन्टरनेसनलले अपाङ्गता भएका व्यक्तिहरूलाई सहज रूपमा कर्जा उपलब्ध गराउने उद्देश्यले ‘स्वावलम्बन कर्जा’ सेवा सुरु गरेका छन्।
![]()

काठमाडौंस्थित भिभान्ता होटलमा आयोजित कार्यक्रममा उक्त डिजिटल कर्जा सुविधा सार्वजनिक गरिएको हो। नयाँ सुविधामार्फत लामो प्रक्रिया, धेरै कागजी काम तथा बैंकसम्म भौतिक रूपमा पुग्नुपर्ने झन्झट कम गर्दै मोबाइलबाटै कर्जाका लागि आवेदन दिन सकिने जनाइएको छ।
‘स्वावलम्बन कर्जा’अन्तर्गत योग्य व्यक्तिले ईसेवा एपमार्फत न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम २ लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। कर्जाको वार्षिक ब्याजदर ९.९९ प्रतिशत र प्रशोधन शुल्क ०.७५ प्रतिशत निर्धारण गरिएको छ।
कर्जाका लागि आवेदन दिन ईसेवा एपको होमपेजमा रहेको ‘स्वावलम्बन कर्जा’ ब्यानरमा क्लिक गरी आवश्यक विवरण तथा प्रक्रिया पूरा गर्नुपर्नेछ।

को-कोले लिन पाउँछन् कर्जा ?
कर्जा सुविधा लिनका लागि आवेदकको ईसेवा खाता केवाईसी (KYC) प्रमाणित भएको हुनुपर्नेछ। साथै, नेपाल सरकारबाट जारी भएको अपाङ्गता परिचयपत्र र कम्तीमा ६ महिनाको ईसेवा प्रयोग इतिहास आवश्यक पर्नेछ।
आवेदकसँग रोजगारी वा व्यवसायमार्फत नियमित आम्दानीको स्रोतसमेत हुनुपर्नेछ। कर्जा स्वीकृति भने सम्बन्धित बैंकको मूल्यांकन तथा लागू हुने नियम र सर्तका आधारमा हुने बताइएको छ।

कार्यक्रममा ईसेवा, सिटिजन्स बैंक इन्टरनेसनल, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, विकास साझेदार संस्था, अपाङ्गता भएका व्यक्तिहरू तथा सञ्चारमाध्यमका प्रतिनिधिको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले ‘स्वावलम्बन कर्जा’ले डिजिटल प्रविधिको प्रयोगमार्फत अपाङ्गता भएका व्यक्तिका लागि वित्तीय सेवामा पहुँच सहज बनाउने बताए।
उनले व्यक्तिको शारीरिक अवस्थाका कारण वित्तीय सेवामा पहुँच सीमित हुन नहुने धारणा व्यक्त गर्दै यो सुविधा केवल एउटा वित्तीय उत्पादन नभई व्यापक अवधारणाको सुरुवात भएको बताए।
त्यस्तै, सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख सञ्चालन अधिकृत रोशन मानन्धरले अपाङ्गता भएका व्यक्तिलाई औपचारिक कर्जामा पहुँच विस्तार गर्न ईसेवासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।
उनका अनुसार ‘स्वावलम्बन कर्जा’ले अपाङ्गता भएका व्यक्तिका व्यक्तिगत तथा आर्थिक आवश्यकतालाई सहयोग गर्ने अपेक्षा गरिएको छ। यस पहलले वित्तीय समावेशीकरणलाई थप विस्तार गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।
कार्यक्रममा ‘स्वावलम्बन कर्जा’सम्बन्धी प्रस्तुति, प्रत्यक्ष कर्जा वितरण, सेवाग्राहीको अनुभव तथा उक्त पहलसम्बन्धी वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो।
ईसेवा र सिटिजन्स बैंकको यो सहकार्यले डिजिटल माध्यमबाट अपाङ्गता भएका व्यक्तिहरूलाई औपचारिक वित्तीय सेवामा जोड्ने प्रयासका रूपमा लिइएको छ।


