जलवायु न्याय र न्यायोचित क्षतिपूर्तिको माग गर्दै सुनसरीमा प्रदर्शन
सुनसरी।जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि त्यसको गम्भीर असर नेपालले भोगिरहेको भन्दै सुनसरीको रामधुनीमा जलवायु न्याय र न्यायोचित क्षतिपूर्तिको मागसहित प्रदर्शन गरिएको छ ।
![]()

रामधुनी नगरपालिकाका नागरिक समाज तथा स्थानीय सामाजिक अगुवाको अगुवाइमा शनिबार बिहान र्यालीसहित प्रदर्शन गरिएको हो । विभिन्न संघसंस्था तथा विद्यालयका विद्यार्थीसमेत सहभागी र्यालीले रामधुनीका बजार क्षेत्र परिक्रमा गरेको थियो ।र्यालीपछि आयोजित कोणसभामा सहभागीहरूले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका बाढी, डुबान, पहिरो, अनियमित वर्षा तथा तापक्रम वृद्धिलगायतका असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए।
![]()
![]()
प्रदर्शनकारीहरूले जलवायु संकटमा नेपालको भूमिका न्यून भए पनि त्यसको असरबाट नेपाली नागरिक, विशेषगरी विपन्न तथा जोखिममा रहेका समुदाय बढी प्रभावित भइरहेको भन्दै जलवायु न्याय सुनिश्चित गर्नुपर्ने माग गरेका छन् ।
उनीहरूले जलवायु परिवर्तनबाट भएको क्षति तथा नोक्सानी सम्बोधन गर्न अन्तर्राष्ट्रियस्तरबाट न्यायोचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।













