बाढीपीडितलाई सहयोग गर्ने जेनजी आन्दोलन स्थगित गरेका हौं : विकेश साह
काठमाडौं।कमन जेन–जी नेपाल’ले आउँदो भदौ २३ गते गर्ने भनेको जेनजी आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ । संघर्षका कार्यक्रम फिर्ता लिदै जेनजी युवाहरु अब बाढी प्रभावित क्षेत्रमा पीडितको सहयोगमा जुटने प्रतिबद्धता व्यक्त गरेको छ ।
कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले आज प्रेस विज्ञप्ति जारी गर्दैै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लामा ठुलो जनधनको क्षति भई पुरै देश शोकको घडीमा रहेकाले पूर्वघोषित संघर्षका सम्पूर्ण कार्यक्रम फिर्ता लिएर पीडितको सहयोगमा जुटने जनाएका छन् ।
‘कमन जेनजी नेपालले यही २०८३ भदौ २३ गते जेनजी आन्दोलनको एक वर्षको अवसर पारेर “फेक शासनविरुद्ध असल शासन” को नारासहित देशव्यापी प्रदर्शनको साथै सडक आन्दोलनको घोषणा गरेको सर्वविदितै छ । तर, राष्ट्रले अहिले भोग्नुपरेको अकल्पनीय प्राकृतिक विपत्तिको कारण सिंगो देश शोकमा डुबेको यस दुःखद् घडीमा हामी पूर्वघोषित यस आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित् भएको जानकारी गराउँदछौं । साथै, कमन जेनजी नेपालको सिंगो पँक्ति बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पूनःस्थापनाको कार्यमा खटिनेपनि जानकारी गराउँदछौं,’ अध्यक्ष साहले जारी गरेको विज्ञप्तिले उल्लेख गरिएको छ ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चात कमन जेनजी नेपालका अध्यक्ष साह सहितका जेनजी युवाहरु नुवाकोटका विभिन्न ठाउँमा पुगेका थिए ।
‘हामी आँफै बाढीबाट अतिप्रभावित जिल्ला नुवाकोटका विभिन्न ठाउँमा स्थलगत अवलोकनको साथै उद्धार तथा राहत कार्यमा खटिएका थियौं, त्यहाँको दृश्यमात्रै सम्झिँदापनि हृदय काँप्दछ र मन भारी हुन्छ । बाढी प्रभावित नागरिकहरूको उद्धार, राहत र पूनःस्थापनाको काममा सिंगो देश र विश्वभरि छरिएर रहेका नेपाली आज सरकारको साथमा उभिएका छौं । तर, आज छैटौं दिन बितिसक्दापनि उद्धार तथा राहतको प्रभावकारितामा प्रश्न उठिरहेका छन् । भौतिक तथा मानवीय क्षतिको कारण असह्य पीडामा रहेका नागरिकहरूको याचनाले मन पोल्दछ,’ उनले विज्ञप्तिमा भनेका छन् ।
साथै उनले प्रधानमन्त्री वालेन शाह (वालेन)लाई सामाजिक सञ्जालमा सिमित नभई प्रभावित क्षेत्रहरुमा पुग्न र राहत, उद्धार लगायतका कार्यलाई अझै प्रभावकारी बनाउन सुझाव दिएका छन् । प्रधानमन्त्री शाह नुवाकोट जिल्ला पुगेको तर अन्य जिल्लाका प्रभावित क्षेत्रमा नपुगेको र राहत, उद्धार लगायतका कार्य अझै प्रभावकारी बनाउनुपर्ने आवश्यक्ता औल्याएका छन् ।
‘सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले यस विपत्तिमा सरकारले गरेका कामकारबाहीको विषयमा हरेक साँझ सामाजिक सञ्जालमार्फत अपडेट गराउनुभएको छ । प्रियजन गुमाउनुहुने परिवारजनले उहाँलाई सञ्जालमा सिमित रहनमात्र नभएर प्रभावित क्षेत्रमा प्रत्यक्ष उपस्थिति भएर सरकार भएको अनुभूति दिलाएको हेर्न चाहनुभएको छ । एकपटक नुवाकोटको विदुर पुग्नुभएको प्रधानमन्त्री छिट्टै रसुवा, धादिङ र चितवन पनि पुगेर असह्य पीडामा रहनुभएका नागरिकहरूको साथमा उभिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौ,’ उनले भनेका छन् ।
सरकारले उद्धार र राहत कार्यलाई अझै प्रभावकारी बनाउनुको साथै विभिन्न जलविद्युत आयोजनाका सुरुङमा फसेका नागरिकहरूको तत्काल उद्धार गर्न सम्पूर्ण तागत लगानुपर्ने साहले भनेका छन् । यसको लागि विषयविज्ञ र अनुभव भएका भारत, चीन र कोरियालगायतका विभिन्न राष्ट्रको सहयोग लिनुपरे सहयोग लिए पनि प्रत्येक नागरिकको जीवनरक्षा गर्नु सरकारको दायित्व भएको यस दायित्व निर्वाहमा सरकार नचुकोस भन्दै जेनजी युवाहरु सदैव साथ र सहयोगमा रहने विश्वास व्यक्त गरेका छन् ।
विनाशकारी बाढीको कारण आज पूरै देश शोकको घडीमा उभिएको छ । सयौंले ज्यान गुमाउनुका साथै हजारौं नागरिक अझै बेपत्ता रहेको यस वियोगान्त क्षणमा कमन जेनजी नेपाल यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । बाढीमा परि आजसम्म पनि बेपत्ता अथवा हालसम्म सम्पर्कमा नआएका आफ्ना प्रियजनसँग पारिवारिक पुनर्मिलनको पखाईमा रहेका परिवारजनको प्रार्थनामा कमन जेनजी पनि सँगै प्रार्थनारत रहेको उनले जनाएका छन् । उपचारत घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै सर्च एण्ड रेस्क्युमा अहोरात्र खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहितका सुरक्षाकर्मीहरू लगायतमा कमन जेनजीले आभार व्यक्त गरेको छ ।












