दक्षिण कोरियामा रहेका शेर्पा संघद्वारा बाढीपीडितलाई ३ लाख ४८ हजार ८८३ रुपैयाँ सहयोग
-निमा पोङ्स्युवा
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित तथा पीडित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि दक्षिण कोरियामा रहेको शेर्पा संघ दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ।

संघले आइतबार एक विज्ञप्ति जारी गर्दै ३ लाख ४८ हजार ८८३ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको हो।
संघका अनुसार प्राकृतिक विपत्तिबाट पीडित नागरिकलाई सहयोग गर्ने उद्देश्यले दक्षिण कोरियाबाट उक्त रकम पठाइएको हो। रकम शेर्पा ङिमा गिल्जेको नामबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको प्रमाणसमेत सार्वजनिक गरिएको छ।



संघले विपद्को दुःखद् अवस्थामा सहयोग गर्ने सम्पूर्ण सहयोगी दाता, समिति परिवार तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
संघले विपत्तिमा परेका नागरिकको दुःखमा साथ दिनु सबैको मानवीय दायित्व भएको उल्लेख गर्दै “पीडित परिवारको दुःखमा हाम्रो साथ—मानवीय सेवामा हाम्रो हात” भन्ने सन्देशसमेत दिएको छ।
![]()













