बाढीपछि सम्पर्कविहीन विदेशी पर्यटक खोज्न ट्रेकिङ तथा टुर एजेन्सीलाई TAAN को आग्रह
काठमाडौँ।रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका विदेशी पर्यटकको अवस्था पत्ता लगाउन ट्रेकिङ तथा ट्राभल एजेन्सीहरूलाई पर्यटकको विवरण उपलब्ध गराउन आग्रह गरिएको छ।
बाढीपछि कैलाश मानसरोवर, लाङटाङ, गोसाइँकुण्डलगायत गन्तव्यमा गएका धेरै विदेशी पर्यटक सम्पर्कविहीन बनेका छन्। नेपाल पर्यटन बोर्डका अनुसार विभिन्न ट्रेकिङ तथा ट्राभल कम्पनीमार्फत गएका ३८४ पर्यटक सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको थियो।

![]()
सम्पर्कविहीन पर्यटकका परिवार तथा आफन्तहरू आफ्ना नागरिकको अवस्थाबारे जानकारी लिन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (TAAN) मा सम्पर्क गरिरहेका छन्।
परिवार तथा आफन्तलाई आवश्यक जानकारी उपलब्ध गराउन सम्बन्धित नेपाली ट्रेकिङ तथा ट्राभल कम्पनीहरूलाई आफ्ना पर्यटकको विवरण तत्काल उपलब्ध गराउन आग्रह गरिएको छ। विशेषगरी पर्यटकको नाम, फोटो, पासपोर्टसम्बन्धी उपलब्ध विवरण, यात्रा गरेको गन्तव्य तथा समूहको विवरण उपलब्ध गराउन भनिएको छ।


TAAN ले प्राप्त विवरण सम्बन्धित परिवार तथा आफन्तसम्म पुर्याउने र आवश्यक परे सम्पर्कविहीन पर्यटकसम्बन्धी सूचना आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने जनाएको छ।
बाढीका कारण रसुवागढी–केरुङ हुँदै कैलाश मानसरोवर जाने मार्ग पूर्णरूपमा प्रभावित भएको छ भने लाङटाङ र गोसाइँकुण्ड जाने प्रमुख पहुँचमार्गमा समेत क्षति पुगेको छ।
यस संकटपूर्ण अवस्थामा पर्यटकका परिवारलाई सही र छिटो सूचना उपलब्ध गराउन सम्बन्धित पर्यटन व्यवसायीलाई सहकार्य तथा विवरण संकलनमा तत्काल सक्रिय हुन आग्रह गरिएको छ।












