बेङ्लुरुमा नेपाली युवतीलाई हेयर ड्रेसरले हत्या गरेको दाबी, ४० होइन ५९ टुक्रामा थियो शव – Sagarmathapana:: Online News Portal

बेङ्लुरुमा नेपाली युवतीलाई हेयर ड्रेसरले हत्या गरेको दाबी, ४० होइन ५९ टुक्रामा थियो शव

   २०८१ आश्विन १० गते  

भारतको बेङ्लुरुमा नेपाली युवती महालक्ष्मीको हत्या प्रकरणमा भारतीय प्रहरीले महत्त्वपूर्ण क्लू फेला पारेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार प्रहरी हत्यारा नजिक पुगेको छ । प्रहरीले हत्यारा एक हेयर ड्रेसर भएको समेत बताएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार हत्यारा भारतकै पश्चिम बंगालको हो । ऊ हत्यापछि भुवनेश्वरहुँदै पश्चिम बंगाल पुगेको प्रहरीले मोबाइल ट्र्याकिङबाट पत्ता लगाएको छ । साथै, प्रहरी हत्याराको आफन्तसम्म पुगिसकेको जनाइएको छ । प्रहरीले हत्याराका भाइसँग भेट गरी हत्यामा उसको संलग्नताबारे महत्त्वपूर्ण जानकारी प्राप्त गरेको जनाइएको छ । हत्याराले हत्याकै दिन भाइलाई फोन गरी आफूले महालक्ष्मीको हत्या गरेको जानकारी दिएको समेत खुलेको छ । प्रहरीले हत्यारालाई पक्राउ गर्न ओडिसा र पश्चिम बंगालमा प्रहरी टोली परिचालन गरेको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार महालक्ष्मीको घर नेपाल हो । तर, नेपालको कहाँ हो भन्नेबारेमा भने केही खुलाइएको छैन । तर, उनको परिवार लामो समयदेखि बेङ्लोरमै बस्दै आएको बताइएको छ । महालक्ष्मीको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइएको र उनको अन्तिम संस्कारसमेत भइसकेको छ । प्रहरीका अनुसार पोस्टमार्टपछि उनको शव ५९ टुक्रामा रहेको पत्ता लागेको छ । यसअघि ३० देखि ४० टुक्रामा शव रहेको बताइएको थियो ।

२१ सेप्टेम्बरमा युवतीको शव बेङ्लुरुको एक तीनतले भवनको पहिलो तलामा रहेको कोठामा भेटिएको थियो । उनको शव फ्रिजमा राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै