नेपालकै पहिलो सडक सुरुङमार्गमा ‘फन रन एण्ड वाक’, साउन ११ देखि परीक्षण सञ्चालनको तयारी
काठमाडौं।काठमाडौंको नागढुंगा र धादिङको सिस्नेखोला जोड्ने नेपालकै पहिलो सडक सुरुङमार्गमा शनिबार सर्वसाधारणको सहभागितासहित ‘नागढुंगा टनेल फन रन एण्ड वाक’ कार्यक्रम सम्पन्न भएको छ।
सडक विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले सुरुङमार्गको अवलोकन गरेका थिए। साथै, सुरुङ सञ्चालनको तयारी, सुरक्षा व्यवस्था र प्राविधिक प्रणालीबारे जानकारी पनि गराइएको थियो।

सडक विभागका अनुसार नेपालमै पहिलो पटक निर्माण गरिएको सडक सुरुङमार्ग भएकाले यसको सञ्चालनका लागि आवश्यक कानुनी, प्राविधिक तथा व्यवस्थापनसम्बन्धी कार्यविधि तयार गर्न अतिरिक्त समय लागेको हो। हाल सुरुङभित्र अक्सिजन आपूर्ति, अग्नि नियन्त्रण, सुरक्षा निगरानी (सीसीटीभी), भेन्टिलेसन तथा सञ्चार प्रणालीलगायत सबै आवश्यक पूर्वाधारको जडान र परीक्षण सम्पन्न भइसकेको विभागले जनाएको छ।
निर्माण सम्पन्न भएको करिब एक वर्षपछि आगामी साउन ११ गते जाइकाका प्रतिनिधिहरूको उपस्थितिमा सुरुङमार्गको औपचारिक उद्घाटन गर्दै परीक्षण सञ्चालन सुरु गर्ने तयारी गरिएको छ। परीक्षण अवधिभर सवारीसाधनबाट कुनै शुल्क नलिइने विभागले जनाएको छ। पूर्ण रूपमा व्यावसायिक सञ्चालनमा आउन भने अझै करिब दुईदेखि तीन महिना लाग्ने अनुमान गरिएको छ, त्यसपछि सरकारले निर्धारण गरेको शुल्क लागू हुनेछ।
सुरुङमार्ग सञ्चालनमा आएपछि बलम्बुदेखि सिस्नेखोलासम्मको दूरी ७.५ किलोमिटरबाट घटेर करिब ५ किलोमिटरमा सीमित हुनेछ। यसले यात्रा समय उल्लेखनीय रूपमा घटाउनुका साथै नागढुंगा क्षेत्रमा हुने सवारी जाम पनि कम हुने अपेक्षा गरिएको छ।













