गभर्नरसँग प्रधानमन्त्री बालेनको उच्चस्तरीय छलफल, आगामी मौद्रिक नीतिका लागि दिए पाँच सुझाव
काठमाडौं।प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग आगामी मौद्रिक नीतिबारे उच्चस्तरीय छलफल गर्दै अर्थतन्त्रलाई चलायमान, लगानीमैत्री र उद्यममुखी बनाउने पाँच महत्वपूर्ण सुझाव दिएका छन्।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको करिब एक घण्टाको भेटमा प्रधानमन्त्री शाहले पुँजी बजारमा लगानीकर्ताको विश्वास कायम राख्ने, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने तथा आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने खालको मौद्रिक नीति आवश्यक रहेको बताएका हुन्।


प्रधानमन्त्रीले सेयर बजारमा आबद्ध लाखौँ लगानीकर्ताको मनोबल उच्च राख्न राष्ट्र बैंकले अभिभावकीय भूमिका खेल्नुपर्ने, मौद्रिक नीतिका कडा तथा अवरोधक व्यवस्थालाई समयानुकूल खुकुलो बनाउनुपर्ने, उद्यमीका लागि सहज बैंकिङ वातावरण सिर्जना गर्नुपर्ने, महिला तथा पिछडिएका समुदायका उद्यमीलाई सहुलियतपूर्ण कर्जामा प्राथमिकता दिनुपर्ने र समग्र मौद्रिक नीतिलाई लचिलो तथा व्यावसायिक बनाउनुपर्ने सुझाव दिएका छन्।
उनले सरकार र राष्ट्र बैंकबीच प्रभावकारी समन्वय भए मात्रै मुलुकमा आर्थिक आत्मविश्वास पुनःस्थापित गर्न सकिने धारणा पनि व्यक्त गरेका थिए।

भेटका क्रममा गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकको प्रमुख उद्देश्य अर्थतन्त्रलाई गतिशील बनाउनु रहेको बताउँदै आगामी मौद्रिक नीति सोही लक्ष्यअनुसार तयार गरिने बताएका छन्।
उनले सेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्मलाई अनावश्यक अप्ठ्यारो नपर्ने गरी नीतिगत सहजीकरण गरिने र आर्थिक गतिविधि विस्तारका लागि आवश्यक लचकता अपनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्रीले गभर्नरलाई दिएका पाँच मुख्य सुझाव
१. शेयर बजारमा लगानीकर्ताको मनोबल उच्च राख्नुपर्ने
प्रधानमन्त्री शाहले पुँजी बजारमा आबद्ध लाखौँ सर्वसाधारण लगानीकर्ताको विश्वास जोगाउन राष्ट्र बैंकले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताए। लगानीकर्तामा सकारात्मक सन्देश जाने नीति आवश्यक रहेको उनको भनाइ थियो।
२. मौद्रिक नीतिका अप्ठ्यारा प्रावधान खुकुलो बनाउनुपर्ने
सेयर बजार र निजी क्षेत्रमा लगानीको वातावरण सहज बनाउन मौद्रिक नीतिमा रहेका केही कडा तथा अवरोधक व्यवस्थालाई समयानुकूल परिमार्जन गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए।
३. उद्यमीका लागि बैंकिङ वातावरण सहज बनाउनुपर्ने
देशभित्र उद्योग, व्यवसाय र रोजगारी विस्तारका लागि साना तथा ठूला उद्यमीलाई सहज रूपमा लगानी गर्न सक्ने वातावरण बनाउन प्रधानमन्त्रीले आग्रह गरे। बैंकको ब्याजदर र कर्जा प्रवाहका सर्तहरू पनि थप उद्यममैत्री बनाउनुपर्ने उनको सुझाव थियो।
४. महिला र पिछडिएका क्षेत्रका उद्यमीलाई विशेष प्राथमिकता
प्रधानमन्त्रीले महिला उद्यमी तथा आर्थिक–सामाजिक रूपमा पछाडि परेका समुदायका व्यवसायीलाई सहुलियतपूर्ण कर्जामा प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनीहरूलाई अर्थतन्त्रको मूलधारमा ल्याउने गरी मौद्रिक उपकरण परिचालन गर्नुपर्ने बताए।
५. समयअनुकूल र लचिलो मौद्रिक नीति आवश्यक
राष्ट्र बैंकले आगामी मौद्रिक नीतिलाई व्यावसायिक, समयसापेक्ष र लचिलो बनाउँदै आर्थिक गतिविधिलाई गति दिने दिशामा केन्द्रित हुनुपर्ने प्रधानमन्त्री शाहको जोड थियो।












