शनिबार रातिदेखि मनसुन सक्रिय, तीन दिन देशभर भारी वर्षाको चेतावनी
काठमाडौं।देशभर कमजोर बनेको मनसुन शनिबार रातिदेखि पुनः सक्रिय हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन अधिकांश भूभागमा लगातार वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
विभागका अनुसार मनसुनी वायुको प्रभाव बढ्दै गएको छ भने मनसुनको न्यूनचापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही माथि र तराई तथा पूर्वी भूभागमा सरदर स्थानकै आसपास रहेकाले विशेषगरी मध्य र पश्चिम नेपालमा वर्षा थप सक्रिय हुने अनुमान गरिएको छ।
मौसमविद् बिनु महर्जनका अनुसार शनिबार रातिदेखि पूर्वी तराई, मध्यपहाडी क्षेत्र, पश्चिम नेपाल तथा हिमाली जिल्लाहरूमा व्यापक वर्षा हुने सम्भावना छ। आइतबार दिनभर देशका धेरै स्थानमा वर्षा जारी रहने अनुमान गरिएको छ।
विभागले केही क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा शहरी डुबान हुन सक्ने स्थानमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। साथै उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले चिसो बढ्ने अनुमानसमेत गरिएको छ।
मौसमविद्हरूले मौसमसम्बन्धी पूर्वसूचना नियमित रूपमा पालना गर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।












