गणेश नेपाली प्रकरणमा एमाले सांसद सुहाङ नेम्वाङको क्षमायाचना, ‘सरकारलाई मात्रै दोष दिएर उम्किन मिल्दैन’ – Sagarmathapana:: Online News Portal

गणेश नेपाली प्रकरणमा एमाले सांसद सुहाङ नेम्वाङको क्षमायाचना, ‘सरकारलाई मात्रै दोष दिएर उम्किन मिल्दैन’

   २०८३ असार २७ गते  

काठमाडौं।नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले गणेश नेपालीको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै राज्यका संयन्त्रले समयमै पीडा सुन्न, बुझ्न र आवश्यक सहारा दिन नसकेको स्वीकार गरेका छन्। उनले गणेश नेपालीको परिवारसँग सार्वजनिक रूपमा क्षमायाचना समेत गरेका छन्।

सांसद नेम्वाङले आफूहरू कानुन तथा नीति निर्माण गर्ने जिम्मेवार तहमा रहेको उल्लेख गर्दै सरकारतर्फ मात्रै औँला देखाएर आफ्नो जिम्मेवारीबाट पन्छिन नमिल्ने बताए।

उनले भने, “हामी स्वयं पनि कानुन र नीति निर्माण गर्ने ठाउँमा छौं। त्यसैले केवल सरकारतर्फ औँला देखाएर आफ्नो जिम्मेवारीबाट मुक्त हुन सक्दैनौं। राज्यका संयन्त्रले समयमै उहाँको पीडा सुन्न, बुझ्न र सहारा दिन नसकेकोमा उहाँको परिवारसँग क्षमायाचना गर्न चाहन्छु।”

नेम्वाङले गणेश नेपालीको घटनाले राज्य, नीति र नेतृत्वलाई गम्भीर आत्मसमीक्षा गर्ने अवसर दिएको उल्लेख गर्दै यस्ता घटना दोहोरिन नदिन कानुन, नीति, आपत्कालीन तयारी र राज्यको व्यवहारमा सुधार आवश्यक रहेको बताए।

उनले चेतावनीपूर्ण रूपमा भने, “यदि यो घटनाले हाम्रो चेतना, हाम्रो नीति, हाम्रो आपत्कालीन तयारी र हाम्रो व्यवहार परिवर्तन गरेन भने भोलि अर्को गणेश नेपालीका लागि फेरि यही दुःख, यही प्रश्न र यही श्रद्धाञ्जली लेख्नुपर्नेछ।”

उनका अनुसार विकासको अर्थ केवल भौतिक पूर्वाधार निर्माण गर्नु मात्र नभई समाजका सबैभन्दा पछाडि परेका नागरिकले समेत आफू सुरक्षित, सम्मानित र राज्यको संरक्षणमा रहेको अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्नु हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै