फिल्म सेटमा मधेशी भएकै कारण विभेद भोगेँ’-अभिनेत्री काजल कर्ण
काठमाडौं।अभिनेत्री काजल कर्णले नेपाली चलचित्र ‘चिरञ्जिवी भवः’ को छायांकनका क्रममा आफूले जातीय तथा क्षेत्रीय पहिचानका आधारमा विभेद, अपमान र मानसिक दुर्व्यवहार भोग्नुपरेको आरोप लगाएकी छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको लामो वक्तव्यमा कर्णले फिल्मको सेटमा आफूलाई कलाकारको रूपमा सम्मान नगरी पटक–पटक अपमान गरिएको, मधेशी पहिचानलाई लिएर होच्याउने टिप्पणी गरिएको तथा अनुबन्धअनुसारको व्यवहार नपाएको दाबी गरेकी छन्।
उनका अनुसार सुटिङका क्रममा पोशाक व्यवस्थापनदेखि यातायात, मेकअप र कार्य वातावरणसम्म आफूले विभिन्न समस्या सामना गर्नुपरेको थियो। मेकअप आर्टिस्ट तथा सेटमा रहेका केही व्यक्तिहरूले आफ्नो रंग र मधेशी पहिचानलाई लिएर अपमानजनक टिप्पणी गरेको आरोप पनि उनले लगाएकी छन्।


कर्णले स्क्रिप्टमा नभएका दृश्य जबर्जस्ती गराइएको, आफूलाई कलाकारभन्दा मजदुरसरह व्यवहार गरिएको तथा पारिश्रमिकसमेत समयमै नदिइएको उल्लेख गरेकी छन्। इटहरीमा हुने छायांकनका लागि बोलाइएपछि आफ्नो स्थानमा अर्कै कलाकार राखिएको थाहा पाएको र आफूलाई पूर्वजानकारीबिना फिल्मबाट हटाइएको पनि उनको दाबी छ।
आफ्नो अनुभव सार्वजनिक गर्दै कर्णले नेपाली फिल्म उद्योगभित्र मधेशी कलाकारप्रति रहेको सोचमाथि प्रश्न उठाएकी छन्। उनले मधेशी भएकै कारण विभेद भोग्नुपरेको उल्लेख गर्दै यस्ता घटनाको निष्पक्ष छानबिन र कलाकारका अधिकारको संरक्षण हुनुपर्ने माग गरेकी छन्।
यद्यपि, कर्णले लगाएका आरोपबारे चलचित्र ‘चिरञ्जिवी भवः’ निर्माण टिम, निर्देशक वा सम्बन्धित पक्षबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। उनीहरूको धारणा प्राप्त भएपछि समाचार अद्यावधिक गरिनेछ।













