रास्वपाका सांसद अब ‘प्लसआरएसपी’ प्रणालीमा, डिजिटल कार्यसम्पादनको सुरुआत – Sagarmathapana:: Online News Portal

रास्वपाका सांसद अब ‘प्लसआरएसपी’ प्रणालीमा, डिजिटल कार्यसम्पादनको सुरुआत

   २०८३ असार १९ गते  

साइबर सुरक्षादेखि सांसदको गतिविधि ट्र्याकिङसम्मका विषयमा आज अभिमुखीकरण

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्यहरूलाई डिजिटल प्रणालीमार्फत काम गर्ने अभ्यास सुरु गर्दै शुक्रबार ‘प्लसआरएसपी’ नामक आन्तरिक डिजिटल प्लेटफर्मबारे अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ।

रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार पार्टीलाई पूर्ण रूपमा डिजिटल बनाउने अभियानअन्तर्गत विकसित गरिएको ‘प्लसआरएसपी’ प्रणालीबारे सांसदहरूलाई जानकारी गराइनेछ। साथै, साइबर सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले पनि विशेष सत्र सञ्चालन हुनेछ। कार्यक्रम पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुक्रबार बिहान १०:३० बजे सुरु हुनेछ।

नयाँ प्रणाली लागू भएपछि प्रत्येक सांसदले आफ्ना दैनिक गतिविधि, निर्वाचन क्षेत्रका भ्रमण, भेटघाट तथा कार्यक्रमको विवरण अनिवार्य रूपमा प्रणालीमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ। संसदमा उठाउने विषयवस्तुसमेत यही प्लेटफर्ममार्फत व्यवस्थापन गरिनेछ।

यस प्रणालीमार्फत सांसदहरूबीच भेटघाटका लागि अनलाइनमै समय माग्न सकिने सुविधा हुनेछ। त्यस्तै, नागरिकहरूले पनि आफ्ना निर्वाचन क्षेत्रका सांसदसँग प्रत्यक्ष रूपमा गुनासा, सुझाव वा समस्या दर्ता गर्न सक्नेछन्। ती गुनासाको ट्र्याकिङ हुने र समाधान प्रक्रियाको अनुगमनसमेत प्रणालीबाटै गरिने जनाइएको छ।

रास्वपाले सांसदको कार्यसम्पादन मूल्याङ्कनलाई समेत डिजिटल प्रणालीसँग जोड्ने तयारी गरेको छ। नागरिकबाट प्राप्त गुनासा, सांसदको सक्रियता र अद्यावधिक गतिविधिका आधारमा कार्यसम्पादन मूल्याङ्कन गरिने फिचरसमेत ‘प्लसआरएसपी’ मा समावेश गरिएको पार्टीले जनाएको छ।

रास्वपाले यसलाई पार्टी संगठन र संसदीय गतिविधिलाई थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउने महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै