सुकुम्बासी र सहकारी सुधारमा सरकारको पहिलो कदम : सांसद प्रसाईं
सुकुम्बासीलाई लालपुर्जा वितरणदेखि सहकारी सुधारसम्म : सरकारका तीन ठूला निर्णय, सांसद प्रसाईंले भने– ‘प्रतिबद्धता कार्यान्वयनको सुरुवात’
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले सरकारले सुकुम्बासी समस्या समाधान, सहकारी क्षेत्र सुधार, सार्वजनिक खरिद प्रणाली व्यवस्थित गर्ने तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्था प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण सुरुवात गरेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले सरकारले आम नागरिकसँग गरेका प्रतिबद्धताहरू कार्यान्वयनतर्फ अघि बढेको दाबी गरे।
प्रसाईंका अनुसार बर्दियाको बढैयाताल गाउँपालिका–४ मा २९ परिवारलाई लालपुर्जा वितरण गरिएसँगै अव्यवस्थित बसोबासीको समस्या समाधान अभियान औपचारिक रूपमा सुरु भएको छ। उनले यसलाई सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समस्या समाधानतर्फको पहिलो व्यावहारिक कदमका रूपमा व्याख्या गरे।

उनले प्रधानमन्त्रीको मार्गदर्शन तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको नेतृत्वमा लालपुर्जा वितरण अभियान अघि बढेको उल्लेख गर्दै आगामी दिनमा देशका अन्य स्थानमा पनि यो अभियान विस्तार हुने विश्वास व्यक्त गरे।
सांसद प्रसाईंले प्रतिनिधिसभाबाट तीन महत्वपूर्ण विधेयक पारित हुनु अर्को सकारात्मक उपलब्धि भएको बताए। उनका अनुसार सहकारी ऐन संशोधनले समस्याग्रस्त सहकारीहरूको व्यवस्थापन गर्न र भविष्यमा यस्ता संकट दोहोरिन नदिन कानुनी आधार तयार गर्नेछ।
त्यसैगरी सार्वजनिक खरिद ऐन संशोधनले विकास आयोजनामा हुने ढिलासुस्ती, ठेक्का व्यवस्थापनमा देखिएका कमजोरी तथा समयमै आयोजना सम्पन्न नहुने समस्यालाई नियन्त्रण गर्न सहयोग पुग्ने उनले बताए।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन संशोधनले अवैध सम्पत्ति तथा कालोधन नियन्त्रणलाई थप प्रभावकारी बनाउने र नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था एफएटीएफको ग्रे लिस्टबाट बाहिर ल्याउने प्रक्रियामा सकारात्मक योगदान पुग्ने उनको भनाइ छ।
सरकारले भूमि व्यवस्थापन, सहकारी सुधार, सार्वजनिक खरिद प्रणाली र वित्तीय सुशासनका क्षेत्रमा थालेका यी कदमहरू जनतासँग गरिएका प्रतिबद्धता कार्यान्वयनको प्रारम्भिक संकेत भएको प्रसाईंले बताएका छन्।












