खोखोमा शान्ति निकुञ्ज र कन्या मन्दिर च्याम्पियन, उपमेयर कपको उपाधि जित्दै नगद पुरस्कार – Sagarmathapana:: Online News Portal

खोखोमा शान्ति निकुञ्ज र कन्या मन्दिर च्याम्पियन, उपमेयर कपको उपाधि जित्दै नगद पुरस्कार

   २०८३ असार १५ गते  

काठमाडौं।प्रथम उपमेयर कप अन्तरविद्यालय खोखो प्रतियोगितामा छात्रतर्फ शान्ति निकुञ्ज माध्यमिक विद्यालय र छात्रातर्फ कन्या मन्दिर माध्यमिक विद्यालय विजेता बनेका छन्।

असार ११ गतेदेखि कीर्तिपुर कभर्ड हलमा सञ्चालन भएको प्रतियोगिताको फाइनल शनिबार सम्पन्न भएको हो। छात्रतर्फ विश्व निकेतन माध्यमिक विद्यालय दोस्रो तथा भीमसेनगोला माध्यमिक विद्यालय तेस्रो बने। यस्तै छात्रातर्फ पद्मकन्या माध्यमिक विद्यालयले दोस्रो र भीमसेनगोला माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेको आयोजकले जनाएको छ।


काठमाडौं महानगरपालिकाको ३० लाख रुपैयाँ आर्थिक सहयोगमा नेपाल खोखो संघले सामुदायिक विद्यालयस्तरीय प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगितामा छात्र र छात्रा दुवै समूहमा छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको थियो।

विजेता टोलीलाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नगद पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिन्। प्रथम हुने टोलीले ५० हजार रुपैयाँ, दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ र तेस्रो हुने टोलीले १० हजार रुपैयाँसहित सम्मान प्राप्त गरे।

पुरस्कार वितरण कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले विद्यालय तहदेखि खेलकुद प्रवर्द्धन गर्दै बालबालिकाको शारीरिक, मानसिक तथा सर्वाङ्गीण विकासमा महानगर प्रतिबद्ध रहेको बताइन्। उनले शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउँदै स्वस्थ, अनुशासित र सक्षम नागरिक निर्माण गर्ने लक्ष्यका साथ यस्ता प्रतियोगितालाई निरन्तरता दिइने उल्लेख गरिन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै