दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारले सिके नीति, अधिकार र तथ्यमा आधारित रिपोर्टिङ – Sagarmathapana:: Online News Portal

दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारले सिके नीति, अधिकार र तथ्यमा आधारित रिपोर्टिङ

   २०८३ असार १४ गते  

सिमरा(बारा)-दिगो वन व्यवस्थापन, रेडप्लस, वन अधिकार तथा प्राकृतिक स्रोत शासनसम्बन्धी दुईदिने क्षेत्रीय कार्यशालाको पहिलो दिन सहभागी आदिवासी जनजाति पत्रकारहरूले वन, जलवायु परिवर्तन र समुदायका अधिकारसँग सम्बन्धित नीतिगत तथा व्यावहारिक विषयमा विस्तृत ज्ञान हासिल गरेका छन्।

नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा सञ्चालित डेडिकेटेड ग्रान्ट मेकानिजम (डिजिएम) नेपाल परियोजना अन्तर्गत नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सहकार्यमा आयोजित कार्यशालामा मधेश र लुम्बिनी प्रदेशका १०० भन्दा बढी पत्रकार सहभागी छन्।


पहिलो दिनको प्रशिक्षणमा सहभागीहरूले नेपालमा कार्यान्वयन भइरहेको रेडप्लस कार्यक्रम, कार्बन उत्सर्जन न्यूनीकरणका प्रयास, दिगो वन व्यवस्थापन, वन शासन, जलवायु परिवर्तन, वन उपयोग, वनमा आधारित समुदायको भूमिका तथा वन अधिकारसम्बन्धी विषयमा जानकारी प्राप्त गरे। साथै लाभ बाँडफाँड योजना, लाभग्राही छनोटका मापदण्ड र निर्णय प्रक्रियामा स्थानीय तथा आदिवासी समुदायको सहभागिताको महत्वबारे पनि छलफल गरिएको थियो।

कार्यशालामा वन तथा वातावरण मन्त्रालय अन्तर्गतको रेड कार्यान्वयन केन्द्रका प्रमुख एवं सहसचिव नवराज पुडासैनीले रेडप्लस कार्यक्रमको वर्तमान अवस्था, नीतिगत व्यवस्था तथा लाभ बाँडफाँड प्रणालीबारे प्रस्तुतीकरण दिएका थिए। वन व्यवस्थापन विज्ञ रुपेश कालाखेतीले दिगो वन व्यवस्थापन र वन संरक्षणका अभ्यासबारे प्रशिक्षण दिएका थिए।

त्यसैगरी वरिष्ठ पत्रकार तथा आदिवासी अभियन्ता खिम घले र वरिष्ठ पत्रकार उजिर मगरले अनुसन्धानमूलक पत्रकारिता, तथ्यांकमा आधारित समाचार लेखन, फिचर लेखन, जलवायु न्याय, आदिवासी सन्दर्भमा नैतिक रिपोर्टिङ तथा नीतिगत वकालतमा सञ्चारको प्रभावकारी प्रयोगबारे सहजीकरण गरेका थिए।

प्रशिक्षणका क्रममा सहभागीहरूले आदिवासी सञ्चारकर्मीहरूले भोगिरहेका भाषिक, जातीय, लैङ्गिक, संस्थागत तथा पेशागत चुनौतीबारे समेत अनुभव आदानप्रदान गरेका थिए। वन र जलवायु परिवर्तनजस्ता विषयलाई समुदायमैत्री, तथ्यपरक र जिम्मेवार ढंगले सञ्चार माध्यममार्फत कसरी प्रस्तुत गर्ने भन्ने विषयमा पनि अभिमुखीकरण गरिएको थियो।

आयोजकका अनुसार कार्यशालाको दोस्रो दिन सहभागीहरूले पहिलो दिन सिकेका विषयलाई व्यवहारमा उतार्दै समाचार, फिचर तथा अन्य सञ्चार सामग्री तयार गर्ने व्यावहारिक अभ्यास गर्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै