होटल तथा पर्यटन क्षेत्रको सेवा गुणस्तर अभिवृद्धिका लागि ‘आतिथ्य तथा स्वच्छता’ तालिम सम्पन्न – Sagarmathapana:: Online News Portal

होटल तथा पर्यटन क्षेत्रको सेवा गुणस्तर अभिवृद्धिका लागि ‘आतिथ्य तथा स्वच्छता’ तालिम सम्पन्न

   २०८३ असार १३ गते  

नेपालगन्ज।नेपालगन्जका होटल तथा पर्यटन क्षेत्रको सेवा गुणस्तर अभिवृद्धि, व्यवसायीको व्यावसायिक क्षमता विकास तथा पर्यटन सेवालाई थप प्रतिस्पर्धी, गुणस्तरीय र सेवामैत्री बनाउने उद्देश्यले सञ्चालन गरिएको दुईदिने ‘आतिथ्य तथा स्वच्छता’ तालिम आज सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्डको आयोजना तथा होटल व्यवसायी संघ बाँके, नेपालगन्जको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिममा बाँके, बर्दिया र दाङका ५० भन्दा बढी होटल व्यवसायी तथा व्यवस्थापन तहका कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रम नेपाल पर्यटन बोर्डको ‘नेपाल लाइफटाइम एक्सपेरियन्सेस’ अभियानअन्तर्गत सञ्चालन गरिएको हो ।

दुई दिनसम्म सञ्चालन भएको तालिममा होटल तथा पर्यटन उद्योगसँग प्रत्यक्ष सम्बन्धित विविध विषयमा व्यवहारिक तथा सीपमूलक प्रशिक्षण प्रदान गरिएको थियो । पर्यटन विज्ञ बद्री कोइराला र संगम कंडेलले आतिथ्य सेवा, ग्राहक सेवा, सेवा व्यवस्थापन, व्यक्तिगत साजसज्जा, सरसफाइ, आतिथ्य संस्कार तथा पर्यटन व्यवसाय व्यवस्थापनका विषयमा प्रशिक्षण दिएका हुन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख प्रशान्त पोखरेलले खाद्य स्वच्छता, खाद्य सुरक्षा तथा गुणस्तरसम्बन्धी विषयमा प्रशिक्षण दिए । आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले पहिलो दिन र कर अधिकृत उदयराम केसीले दोस्रो दिन कर प्रशासनसम्बन्धी विषयमा सहजीकरण गरेका हुन् ।


पत्रकार सजल गैरेले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग, व्यवसाय प्रवद्र्धनका लागि आवश्यक फोटो तथा भिडियो सामग्री निर्माण, डिजिटल प्रचारप्रसार, विज्ञापन तथा बजार प्रवद्र्धनका विषयमा प्रशिक्षण दिएकी थिइन् । शुक्रवार तालिम समापनमा कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत रविन रेग्मीले नेपालले भारत र चीनजस्ता दुई ठूला छिमेकी मुलुकसँगको भौगोलिक अवस्थाको लाभ पर्यटन क्षेत्रमा लिन सक्ने बताए । पोखराले पर्यटनमार्फत हासिल गरेको सफलतालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले नेपालगन्ज पनि उत्तिकै सम्भावनायुक्त गन्तव्य भएकाले स्थानीय व्यवसायीले त्यसतर्फ सक्रिय पहल गर्नुपर्ने आवश्यकता औंल्याए । पर्यटन बोर्डले व्यवसायीको दक्षता अभिवृद्धि र सेवाको स्तरोन्नतिका लागि देशका सातै प्रदेशमा यस्ता क्षमता विकाससम्बन्धी तालिम सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

कार्यक्रममा नाट्टा बाँकेका अध्यक्ष डिल्लीराज रेग्मी, हान बाँकेका वरिष्ठ उपाध्यक्ष केशव न्यौपाने, सहभागी व्यवसायी प्रेम बस्नेत, गोमा पोखरेललगायतले पर्यटन क्षेत्रको गुणस्तरीय विकासका लागि यस्ता तालिम आवश्यक रहेको धारणा व्यक्त गरे । होटल व्यवसायी संघ बाँके, नेपालगन्जका अध्यक्ष भीमलाल कंडेलले तालिमको अध्यक्षता गर्दै व्यवसायी तथा होटल व्यवस्थापकको क्षमता अभिवृद्धि नै कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताए । तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारी सेवाको गुणस्तर सुधार गर्न सहभागीहरू प्रतिबद्ध हुनुपर्नेमा उनले जोड दिए । आफू पनि तालिममा सहभागी भएको उल्लेख गर्दै उनले तालिमको प्रतिफल व्यवहार र नतिजामा देखिनुपर्ने धारणा व्यक्त गरे । तालिममा फोहोर व्यवस्थापन तथा कीट नियन्त्रण प्रणाली, स्वास्थ्य तथा सुरक्षा, आपत्कालीन प्रतिकार्य, प्रचार सामग्रीको डिजाइन तथा मुद्रण, कार्ययोजना निर्माणलगायत विषय पनि समेटिएका थिए । सहभागीलाई सेवा व्यवस्थापनदेखि सरसफाइ, सुरक्षा, खाद्य गुणस्तर तथा बजार विस्तारसम्मका विषयमा व्यवहारिक ज्ञान प्रदान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै