गुण्डागर्दी नियन्त्रणमा शून्य सहनशीलता अपनाउन आईजीपी कार्कीको कडा निर्देशन – Sagarmathapana:: Online News Portal

गुण्डागर्दी नियन्त्रणमा शून्य सहनशीलता अपनाउन आईजीपी कार्कीको कडा निर्देशन

   २०८३ बैशाख १० गते  

काठमाडौं।नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की ले गुण्डागर्दी, लागुऔषध कारोबार र सीमा क्षेत्रका आपराधिक गतिविधिविरुद्ध थप निर्मम रूपमा प्रस्तुत हुन देशभरका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत आयोजित बैठकलाई सम्बोधन गर्दै आईजीपी कार्कीले नागरिकको अपेक्षाअनुसार प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न कुनै पनि कमीकमजोरी सह्य नहुने स्पष्ट पारे। उनले सरकारद्वारा लागू गरिएका नीति तथा कार्यक्रमलाई कडाइका साथ कार्यान्वयन गर्दै आ–आफ्नो क्षेत्रमा आपराधिक गतिविधि हुन नदिन सक्रियता बढाउन आग्रह गरे।

आईजीपी कार्कीले सूचना संकलन र विश्लेषणलाई प्राथमिकतामा राख्दै त्यसकै आधारमा सुरक्षा रणनीति तयार गरी प्रहरी परिचालन गर्नुपर्नेमा जोड दिए। विशेषगरी लागुऔषध उत्पादन, ओसारपसार तथा कारोबारमा संलग्नलाई कानुनी दायरामा ल्याउन र प्रयोगकर्तालाई लक्षित सुधारात्मक कार्यक्रम सञ्चालन गर्न प्रहरी अझ जिम्मेवार बन्नुपर्ने बताए।

सीमानाकामा हुने तस्करी र अन्य आपराधिक क्रियाकलाप नियन्त्रणमा “शून्य सहनशीलता” नीति अपनाउनुपर्ने उल्लेख गर्दै उनले गुण्डागर्दीविरुद्ध कठोर कदम चाल्न निर्देशन दिए। समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरीको सक्रियता र प्रभावकारिता अझ सुदृढ बनाउन आवश्यक रहेको उनको भनाइ थियो।

त्यसैगरी, समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकतामा राखी नागरिक सुनुवाइमार्फत सूचना आदानप्रदान प्रभावकारी बनाउनुपर्नेमा पनि उनले जोड दिए। नागरिकले प्रत्यक्ष महसुस गर्ने गरी सेवा दिनु नै प्रहरीको मुख्य जिम्मेवारी भएको उनले स्पष्ट पारे।

कार्यक्रममा नेपाल प्रहरी कार्य विभागका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदी, केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्ले लगायत प्रदेश तथा जिल्ला प्रहरी प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै