सनकको भरमा पर्यटन नीति नबदल्न व्यवसायीको सरकारलाई सुझाव – Sagarmathapana:: Online News Portal

सनकको भरमा पर्यटन नीति नबदल्न व्यवसायीको सरकारलाई सुझाव

   २०८२ चैत्र ३० गते  

काठमाडौं।पर्यटन व्यवसायीहरूले दीर्घकालीन असरलाई ध्यानमा राख्दै पर्यटन नीति तथा नियमहरू हतार वा सनकको भरमा परिवर्तन नगर्न सरकारलाई आग्रह गरेका छन्।

टुर एण्ड ट्राभल व्यवसायीहरूको छाता संस्था Society of Travel and Tour Operators Nepal (सोट्टो–नेपाल) को १८औँ वार्षिक साधारण सभामा बोल्दै व्यवसायीहरूले स्थायित्व र स्पष्ट नीति निर्माणको आवश्यकता औंल्याएका हुन्।

सोट्टो–नेपालका अध्यक्ष मान बहादुर शाही ले नेपालमा पर्यटनको अपार सम्भावना रहेको उल्लेख गर्दै हिमाल, पहाड, तराई, विविध संस्कृति, सम्पदा, साहसिक, धार्मिक तथा ग्रामीण पर्यटनले देशलाई विश्व पर्यटन बजारमा विशेष स्थान दिलाउन सक्ने बताए।

उनले यी सम्भावनालाई व्यवहारमा उतार्न सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीच सहकार्य अपरिहार्य रहेको जोड दिए। साथै, वर्तमान राजनीतिक अवस्थाले स्थायित्वतर्फ संकेत गरेको भन्दै पर्यटन क्षेत्रमा आशा पलाएको धारणा व्यक्त गरे।

निवर्तमान अध्यक्ष भुवन बहादुर पाण्डे ले पनि दीर्घकालीन प्रभाव मूल्यांकन नगरी नीति ल्याउने र हटाउने प्रवृत्तिले पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने चेतावनी दिए।

त्यस्तै, पूर्व अध्यक्ष यम बहादुर खड्का ले साना व्यवसायीहरू भ्याट समस्याबाट प्रभावित भएको भन्दै समाधानका लागि सरकारको ध्यानाकर्षण गराए।

कार्यक्रममा Nepal Tourism Board का वरिष्ठ निर्देशक सुमन घिमिरे ले मध्यपूर्व युद्धले नेपाली पर्यटनमा असर परेको भए पनि त्यसलाई अवसरमा रूपान्तरण गर्न सकिने बताए।

उनले पर्यटन प्रवर्द्धनका कार्यक्रमहरूलाई आगामी बजेटमा समावेश गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

सभामा वरिष्ठ उपाध्यक्ष दिनेश बस्नेत, महासचिव कुमार पराजुली, कोषाध्यक्ष मदुसुदन नेपाल लगायतले पर्यटनलाई अर्थतन्त्रको प्रमुख आधार मान्दै नयाँ रणनीतिसहित अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

शनिबार सम्पन्न साधारण सभाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसँगै ओझेलमा परेका नयाँ गन्तव्यहरूको प्रचारप्रसारका लागि बुँदागत रणनीतिहरू सार्वजनिक गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै