राहत दिलाइदिन्छु’ भन्दै रकम उठाउने, नक्कली ‘उद्धार संस्था’ चलाएर ठगी गर्ने सञ्चालक इन्द्रलाल गोले पक्राउ
काठमाडौं।वैदेशिक रोजगारीका नाममा पीडित भएका व्यक्तिहरूबाट रकम असुल्ने आरोपमा एक संस्थाका सञ्चालक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले ‘वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं’ नामक संस्थाका सञ्चालक ६६ वर्षीय इन्द्रलाल गोलेलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सिन्धुलीको सुनकोसी गाउँपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–१५ अन्नपूर्ण चोकमा बसोबास गर्दै आएका गोलेले वैदेशिक रोजगारका पीडितहरूबाट उजुरी लिने बहानामा गैरकानुनी रूपमा रकम असुल गर्दै आएका थिए। प्राप्त सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार सोधपुछका क्रममा गोलेले आफू संस्थाको अध्यक्ष भएको बताउँदै प्रहरीसँग अभद्र व्यवहार समेत गरेका थिए। यसै आधारमा उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा समेत अनुसन्धान अघि बढाइएको छ।
पक्राउ परेका गोलेविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले यस घटनासँग सम्बन्धित अन्य व्यक्तिहरू र सम्भावित ठगी सञ्जालबारे पनि अनुसन्धान जारी राखेको छ।












