पाटन दरबार क्षेत्रमा चक्कु प्रहार : दुई दाजुभाइको ज्यान गयो
फोन डायलको सामान्य विवादले लियो दुःखद मोड, आमा भेट्न लन्डन जान लागेका दाजुभाइको मृत्यु
काठमाडौं।पाटन दरबार क्षेत्र मा बुधबार साँझ भएको चक्कु प्रहार घटनामा दुई दाजुभाइको ज्यान गएको छ। मृत्यु हुनेमा ३३ वर्षीय सुमित नेम्वाङ र २६ वर्षीय सिर्जन नेम्वाङ रहेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सामान्य फोन डायलको त्रुटिबाट सुरु भएको विवादले पछि हिंसात्मक रूप लिएको हो। विवाद मिलाउन तथा माफी माग्न घटनास्थल पुगेका दाजुभाइमाथि अचानक आक्रमण भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सोही क्षेत्रमा रहेको एक मासु पसलमा काम गर्ने सञ्जीव नेपालीले अचानक सिर्जन नेम्वाङमाथि चक्कु प्रहार गरेका थिए। भाइमाथि आक्रमण भएपछि छुट्याउन गएका सुमित नेम्वाङमाथि पनि उनले आक्रमण गर्दा दुवै गम्भीर घाइते भएका थिए।
घटनाको जानकारी पाउनासाथ सातदोबाटो र पुल्चोकबाट पुगेको प्रहरी टोलीले दुवैलाई तत्काल बीएन्डबी अस्पताल पुर्याएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।
घटनापछि फरार हुने प्रयास गरेका आरोपी सञ्जीव नेपालीलाई नजिकैको एक रेष्टुरेन्टमा लुकेका अवस्थामा महिला प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्ने क्रममा उनले प्रहरीमाथि दुर्व्यवहारको प्रयाससमेत गरेको प्रहरीको भनाइ छ।
प्रारम्भिक अनुसन्धानअनुसार मृतक दाजुभाइ ललितपुरको इमाडोल क्षेत्रमा बसोबास गर्दै आएका थिए। उनीहरू आमा भेट्न लन्डन जाने तयारीमा रहेका थिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।












