विराटनगर विमानस्थलमा ‘फूल स्केल एक्सरसाइज’ सम्पन्न
काठमाडौं / विराटनगर — नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा विराटनगर विमानस्थलमा जहाज दुर्घटनापछिको आपत्कालीन उद्धार तथा व्यवस्थापन प्रणालीको परीक्षण गर्न ‘फूल स्केल एक्सरसाइज’ सम्पन्न गरिएको छ।
अभ्यासका क्रममा दुर्घटनाको यथार्थ झल्किने गरी कृत्रिम अवस्था सिर्जना गर्दै सूचना प्रवाह, उद्धार समन्वय तथा संकट व्यवस्थापन क्षमताको परीक्षण गरिएको थियो।

परिकल्पनाअनुसार अवतरणका क्रममा समस्या आएपछि विमान दुर्घटनामा परेको दृश्य प्रस्तुत गरिएको थियो। उक्त अभ्यासमा ५ जनाको मृत्यु, ६ जना गम्भीर घाइते तथा अन्य यात्रु घाइते भएको परिदृश्य समावेश गरिएको थियो।
अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी, अस्पताल तथा दमकल सेवाको समन्वित परिचालन गरिएको थियो।
सम्बन्धित अधिकारीहरूका अनुसार यस्ता अभ्यासहरूले वास्तविक दुर्घटनाको अवस्थामा छिटो, प्रभावकारी र समन्वित प्रतिक्रिया दिन सहयोग पुग्ने विश्वास गरिएको छ।












