झापाको बुद्धशान्तिमा जग्गा विवाद चर्किँदा बन्चरो प्रहार, तीन दाजुभाइ पक्राउ
काठमाडौं:झापाको बुद्धशान्ति गाउँपालिकामा जग्गा छुट्याउने विषयलाई लिएर उत्पन्न विवादले हिंसात्मक रूप लिँदा बन्चरो प्रहारको घटना भएको छ। घटनामा संलग्न तीन दाजुभाइलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बुद्धशान्ति–२ प्रगति टोलका ५५ वर्षीय रुद्रप्रसाद भट्टराई र उनका ५० वर्षीय भाइ हरिप्रसाद भट्टराईमाथि सोही ठाउँका ४९ वर्षीय खडानन्द सुवेदी, उनका भाइहरू ख्यामु सुवेदी र धर्मानन्द सुवेदीले आक्रमण गरेका हुन्।
प्रहरीका अनुसार अदालतको फैसलाअनुसार स्थानीय भद्रभलामी र जनप्रतिनिधिको उपस्थितिमा जग्गा छुट्याउने क्रममा विवाद चर्किएको थियो। सोही क्रममा ख्यामु सुवेदीले साथमा ल्याएको बन्चरो प्रयोग गरी हरिप्रसाद भट्टराईको टाउकोमा प्रहार गरेका थिए।
गम्भीर घाइते भएका हरिप्रसाद भट्टराईको बीएण्डसी अस्पताल मा उपचार भइरहेको छ।
घटनामा संलग्न ख्यामु सुवेदी, धर्मानन्द सुवेदी र खडानन्द सुवेदीलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत झापा बाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको र दोषीमाथि कानुनअनुसार कारबाही गरिने बताएको छ।












