काँकडभिट्टा नाकामा २४ बिचौलिया पक्राउ, यात्रु ठगी नियन्त्रणमा प्रहरी सक्रिय
झापा।पूर्वी सीमा नाका काँकडभिट्टामा यात्रुहरूलाई जबर्जस्ती तानातान गरी विभिन्न सेवामा लगाउने २४ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले बिहानैदेखि बसपार्क, भन्सार कार्यालय तथा बजार आसपास क्षेत्रमा विशेष निगरानी गर्दै उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेका सबै पुरुष रहेका छन्। उनीहरूले लामो तथा छोटो दूरीका सवारी साधनमा चढाइदिने, होटलमा बसाउने तथा अस्पतालसम्म पुर्याइदिने बहानामा यात्रुहरूलाई जबर्जस्ती तानातान गर्ने गरेको उजुरी प्राप्त भएपछि प्रहरी सक्रिय बनेको हो।
प्रहरीका अनुसार पछिल्लो समय नाकामा यात्रुहरूबाट लगातार गुनासो आएपछि सुरक्षाकर्मी थप परिचालन गरी बिचौलियाको गतिविधि नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको र घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।
यसअघि केही दिनअघि मात्र काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट पनि यस्तै गतिविधिमा संलग्न बिचौलियाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले सार्वजनिक स्थलहरूमा हुने यस्तो अवाञ्छित गतिविधि नियन्त्रण गर्न अभियानलाई निरन्तरता दिने जनाएको छ।












