प्रतिशोधपूर्ण गतिविधि गलत : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) का सचिव हिक्मतकुमार कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीप्रति कडा आपत्ति जनाएका छन्।
मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उक्त गिरफ्तारीलाई प्रतिशोधपूर्ण कदमको संज्ञा दिएका छन्। उनले सरकारको पछिल्लो गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै यस्ता कार्यले मुलुकलाई द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने चेतावनी दिएका हुन्।
“लोकतान्त्रिक व्यवस्थामा प्रतिशोधको राजनीति स्वीकार्य हुँदैन,” कार्कीले उल्लेख गरेका छन्, “मुलुकलाई द्वन्द्वतर्फ लैजान प्रतिशोधपूर्ण गतिविधि गर्नु गलत हो। लोकतन्त्रमा प्रतिशोधको कुनै स्थान हुँदैन।”
कार्कीको भनाइले पछिल्लो राजनीतिक घटनाक्रमप्रति सत्तापक्ष र प्रतिपक्षबीच तनाव बढ्ने संकेत देखिएको छ। पक्राउ प्रकरणपछि देशभर राजनीतिक प्रतिक्रिया तीव्र बन्दै गइरहेको छ।












