नेपाल मातृ गृहद्वारा अशक्त बालबालिकाको सेवा र वातावरण संरक्षणसम्बन्धी जनचेतना कार्यक्रम – Sagarmathapana:: Online News Portal

नेपाल मातृ गृहद्वारा अशक्त बालबालिकाको सेवा र वातावरण संरक्षणसम्बन्धी जनचेतना कार्यक्रम

   २०८२ चैत्र ८ गते  

काठमाडौं महानगरपालिका–९, गोङ्गबु भण्डारी गाउँमा अवस्थित नेपाल मातृ गृह एक गैर-नाफामूलक सामाजिक संस्था हो, जसले बौद्धिक रूपमा अशक्त तथा सामाजिक रूपमा पिछडिएका बालबालिकाहरूको संरक्षण, शिक्षा तथा पुनःस्थापनाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। सन् २००० ई.स. मा स्थापना भएको यस संस्थाले अशक्त बालबालिकाहरूलाई आवास, शिक्षा, थेरापी तथा परामर्श सेवा प्रदान गर्दै उनीहरूलाई आत्मनिर्भर र सम्मानजनक जीवनयापन गर्न सक्षम बनाउने लक्ष्य राखेको छ।
त्यस्तै, संस्थाले “इंटिग्रेटिभ सोशल स्कुल” मार्फत विशेष शिक्षा प्रदान गर्दै आएको छ। ५० भन्दा बढी बालबालिकाहरूलाई फिजियोथेरापी, स्पीच थेरापी तथा अन्य आवश्यक थेरापी सेवाहरू उपलब्ध गराइँदै आएको छ।
संस्थाले बौद्धिक रूपमा असक्षम बालबालिकाहरूको क्षमता अभिवृद्धि, अभिमुखीकरण कार्यक्रम, आत्मनिर्भरता विकास तथा सम्मानजनक जीवन सुनिश्चित गर्ने उद्देश्यले विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। साथै, अभिभावकहरूलाई  जनचेतना कार्यक्रम तथा सामाजिक परामर्शमार्फत सहयोग प्रदान गरिँदै आएको छ।
यसै क्रममा संस्थाले अशक्त बालबालिकाहरूलाई समाजको मूल प्रवाहमा ल्याउने उद्देश्यले विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। सोही कार्यक्रमअन्तर्गत टोखा नगरपालिकाका विभिन्न वडाका विद्यालय तथा समुदायमा वातावरण संरक्षणसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले सडक नाटक प्रस्तुत गरिएको थियो।
“प्रकृतिको संरक्षण गरौं, प्लास्टिकजन्य पदार्थको अधिकतम न्यून प्रयोग गरौं” भन्ने मुख्य सन्देशसहित प्रस्तुत गरिएको उक्त नाटकले स्थानीय बासिन्दा तथा विद्यार्थीहरूलाई आकर्षित गरेको थियो। नाटक लेखक तथा कला निर्देशक सौभाग्य सिंह राई ‘सोभा’ को सहयोगमा तयार गरिएको यस नाटकले वातावरण प्रदूषणका नकारात्मक असरबारे सचेतना फैलाउने लक्ष्य राखेको आयोजकले जनाएको छ।
नाटकमा कलाकारहरू सुमित्रा श्रेष्ठ, तेजवी राई, किरण परियार, बिटी महर, प्रतिभा राउत तथा प्रल्लाद खरेलले अभिनय गरेका थिए। कलाकारहरूले सरल र प्रभावकारी शैलीमा सन्देश प्रस्तुत गर्दा दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो।
आयोजकका अनुसार यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ, जसले समुदायस्तरमा वातावरण संरक्षणप्रति जिम्मेवार व्यवहार विकास गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।

कविता खड्का,सगरमाथापाना

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै