काठमाडौंमा भोटखोलावासीका लागि खुला भोटे नृत्य प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने – Sagarmathapana:: Online News Portal

काठमाडौंमा भोटखोलावासीका लागि खुला भोटे नृत्य प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने

   २०८२ चैत्र ८ गते  

काठमाडौं।भोटखोला अक्षयकोषको आयोजनामा भोटखोलावासी हरूका लागि काठमाडौंमा खुला भोटे नृत्य प्रतियोगिता तथा तेस्रो बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।

आयोजकका अनुसार २०८२ साल चैत १३ र १४ गते सञ्चालन हुने उक्त कार्यक्रम १५ वर्षदेखि ३० वर्ष उमेर समूहका युवायुवतीलाई लक्षित गरिएको छ। कार्यक्रम काठमाडौंको कपन क्षेत्रमा आयोजना गरिनेछ।

कार्यक्रम मार्फत भोटखोलाको मौलिक संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य राखिएको जनाइएको छ।आयोजकले काठमाडौंमा रहेका सम्पूर्ण भोटखोलावासीलाई कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।

प्रतियोगितामा आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ।प्रथम हुने समूहले रु २१,१०० नगदसहित शिल्ड प्राप्त गर्नेछ भने दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु १२,१०० र रु ९,१०० प्रदान गरिनेछ। साथै सान्त्वना पुरस्कार स्वरूप रु ७,१०० र प्रत्येक सहभागीलाई रु ५,००० प्रोत्साहन रकम दिइनेछ। प्रतियोगितामा सहभागिताका लागि फारम शुल्क रु २,००० तोकिएको छ।

प्रतियोगितामा ८ जनाको समूह अनिवार्य हुने, गीत १० मिनेटभित्र प्रस्तुत गर्नुपर्ने, र प्रस्तुति परम्परागत तथा सबैले बुझ्ने खालको हुनुपर्ने नियम राखिएको छ। निर्णायकको निर्णय अन्तिम हुने आयोजकले जनाएको छ।

यस किसिमको सांस्कृतिक कार्यक्रमले युवापुस्तामा परम्परागत कला र पहिचानप्रति आकर्षण बढाउने विश्वास आयोजकले व्यक्त गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै