मोरङ–३ का नागरिकका लागि नोबेलको निःशुल्क उपचार सेवा रोकिँदैन : डा. सुनिल शर्मा
काठमाडौँ।मोरङ–३ का नागरिकले नोबेल अस्पतालमार्फत पाउँदै आएको निःशुल्क उपचार सेवा बन्द हुने भन्ने हल्ला निराधार रहेको बताइएको छ। सो सेवा निरन्तर सञ्चालन हुने भन्दै यसबारे फैलाइएकाे भ्रमपूर्ण सूचना सत्य नभएको स्पष्ट पारिएको छ।
नोबेल अस्पतालसँग सम्बद्ध डा. सुनिल शर्माले सामाजिक सञ्जालमा फैलिएको “मोरङ–३ का जनताले नोबेलमा पाउँदै आएको छुट तथा निःशुल्क सेवा बन्द हुने” भन्ने समाचारमा कुनै सत्यता नभएको बताएका हुन्।
उनका अनुसार मोरङ–३ का दुःखी, गरिब तथा विपन्न वर्गका नागरिकलाई लक्षित गरी प्रदान गरिँदै आएको निःशुल्क उपचार सेवा यथावत् रहनेछ। उनले यस सेवामा कुनै प्रकारको अवरोध नआउने र आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने स्पष्ट पारे।
डा. शर्माले गलत हल्ला फैलाएर जनतामा भ्रम सिर्जना नगर्न आग्रह गर्दै वास्तविक जानकारीका लागि आधिकारिक स्रोतमा विश्वास गर्न सबैलाई अनुरोध गरेका छन्।












