सगरमाथादेखि अन्टार्कटिकासम्म एकल साइकल यात्रा: निरञ्जन अर्याललाई यूएईमा सम्मान र आर्थिक सहयोग – Sagarmathapana:: Online News Portal

सगरमाथादेखि अन्टार्कटिकासम्म एकल साइकल यात्रा: निरञ्जन अर्याललाई यूएईमा सम्मान र आर्थिक सहयोग

   २०८२ फाल्गुन १७ गते  

दुबई।सगरमाथादेखि अन्टार्कटिका सम्म साइकल यात्रा गर्दै जलवायु परिवर्तनका चुनौती र समाधानका उपायबारे विश्वव्यापी सचेतना फैलाउने उद्देश्यले नेपालबाट एकल साइकल यात्री निरञ्जन अर्यालले सुरु गरेको ‘वर्ल्ड बाइसाइकल टुर २०२५’ अभियानबारे यूएईमा जानकारी कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नेवा: पुच: यूएईका महासचिव कुमार बलामीले अभियानको उद्देश्य,यात्रा तालिका तथा अन्तर्राष्ट्रिय स्तरमा यसको सन्देशबारे उपस्थित समुदायलाई जानकारी दिनुभयो। जानकारी अनुसार अर्यालले हालसम्म ११ देशको सफल साइकल यात्रा पूरा गरिसक्नु भएको छ भने हाल १२औँ देश यूएईमा पुग्नुभएको छ।

नेपालबाट सुरु भएको यो अभियानले विभिन्न देश पार गर्दै वातावरण संरक्षण र जलवायु परिवर्तनका असरबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।महासचिव बलामीले अभियान सफलताको कामना गर्दै साइकल यात्री निरञ्जन अर्याललाई शुभकामना व्यक्त गर्नुभयो। साथै, अभियानलाई प्रोत्साहन स्वरूप केही आर्थिक सहयोगसमेत प्रदान गरिएको जानकारी दिनुभयो।

यसैगरी, यूएईमै कार्यक्षेत्र बनाइ व्यवसाय गर्दै आएका चलचित्र निर्माता तथा नायक आशिष पुरुषले पनि अभियानलाई सहयोग गर्नुभएको बताइएको छ।महासचिव बलामीले उक्त सहयोग सम्बन्धी जानकारी गराउनु भएकोछ।

भेटघाट कार्यक्रममा यूएईस्थित नेपाली समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागी हरूले यस्ता अभियानले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन्।

साइकल यात्री निरञ्जन अर्यालले सगरमाथादेखि अन्टार्कटिका सम्मको यात्रामार्फत जलवायु परिवर्तनका चुनौती र समाधानका उपायबारे विश्व समुदायलाई जोड्ने प्रयास भइरहेको बताउनुभयो।

नेवा: पुच: यूएईले आगामी दिनमा पनि यस्ता रचनात्मक तथा सचेतनामूलक अभियानमा साथ र सहयोग रहने प्रतिबद्धता जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै