फोनिज बाँकेद्वारा निःशुल्क स्वास्थ्य शिविर, ३४८ जनाले सेवा लिए
नेपालगन्ज।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँकेले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य जाँच शिविरबाट ३ सय ४८ जनाले सेवा लिएका छन्। नेपाल मगर दिवसको अवसरमा सञ्चालन गरिएको शिविर बाँकेको कोहलपुर न्युरोड खुल्ला मञ्च र खजुरा गाउँपालिका वडा नं. ३ स्थित बहुउद्देश्यीय सभाहलमा सम्पन्न भएको हो।
कोहलपुरमा १ सय ८८ जना र खजुरामा १ सय ६० जना गरी जम्मा ३ सय ४८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएको फोनिज बाँकेका अध्यक्ष अशोक थापा मगरले जानकारी दिए।

स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा रक्तचाप, मधुमेह (सुगर) परीक्षण, सामान्य स्वास्थ्य जाँच, परामर्श सेवा तथा आवश्यक प्राथमिक उपचार प्रदान गरिएको थियो। विभिन्न उमेर समूहका स्थानीय सर्वसाधारण, ज्येष्ठ नागरिक तथा महिलाहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
शिविरका लागि औषधि सहयोग गोपाल निना फाउन्डेसन ले उपलब्ध गराएको थियो। कार्यक्रम सञ्चालनमा मुख्य सहयोगी संस्थाका रूपमा गोपाल निना फाउन्डेसन तथा एनपिएल रहेका थिए। त्यसैगरी सादा औषधि पसल, एशोदा फार्मेसी, हाइसाई जापानिज भाषा प्रशिक्षण केन्द्र नेपालगन्ज, मानवता नेपाल बाँके र हरपल होलिस्टिक होम केयर ट्रेनिङ सेन्टरको सहकार्यमा शिविर सम्पन्न गरिएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष अशोक थापा मगरले पत्रकार संगठन सञ्चार क्षेत्रमा मात्र सीमित नरही सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा तथा जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिँदै आएको बताए। उनले यस्ता सामाजिक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने जानकारी दिए।
स्थानीय बासिन्दाले निःशुल्क स्वास्थ्य सेवा पाउँदा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रम गाउँ–समुदाय स्तरमा नियमित रूपमा सञ्चालन हुनुपर्ने सुझाव दिएका छन्।












