नेपाली चलचित्र सङ्ग्रहालयको शुभारम्भ,चलचित्र इतिहास संरक्षणतर्फ महत्वपूर्ण कदम – Sagarmathapana:: Online News Portal

नेपाली चलचित्र सङ्ग्रहालयको शुभारम्भ,चलचित्र इतिहास संरक्षणतर्फ महत्वपूर्ण कदम

   २०८२ फाल्गुन १३ गते  

काठमाडौं।चलचित्र विकास बोर्डले नेपाली चलचित्रको इतिहास,कला र प्रविधिलाई दीर्घकालीन रूपमा संरक्षण गर्ने उद्देश्यसहित ‘नेपाली चलचित्र सङ्ग्रहालय’ को औपचारिक शुभारम्भ गरेको छ।यो पहल नेपाली चलचित्र उद्योगका लागि महत्वपूर्ण र ऐतिहासिक कदमका रूपमा हेरिएको छ।

मंगलबार बोर्डको प्रेक्षालयमा आयोजित विशेष कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले सङ्ग्रहालयको उद्घाटन गरेकी हुन्।कार्यक्रममा चलचित्रकर्मी, कलाकार,प्राविधिक,पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

बोर्डका अध्यक्ष दिनेश डिसीले सङ्ग्रहालय स्थापनालाई आफ्नो दीर्घकालीन सपना र नेपाली चलचित्रको ‘आत्मा जोगाउने अभियान’ का रूपमा व्याख्या गरे।उनका अनुसार नेपाली चलचित्रको इतिहासलाई केवल सम्झनामा सीमित नराखी संस्थागत रूपमा संरक्षण गर्न यो कदम चालिएको हो। आगामी दिनमा सङ्ग्रहालयलाई डिजिटल प्रणालीसँग जोड्दै विद्यार्थी, अनुसन्धानकर्ता र चलचित्रप्रेमीहरूका लागि अध्ययन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उनले बताए।

सङ्ग्रहालयलाई समृद्ध बनाउन चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्व तथा संस्थाहरूले ऐतिहासिक सामग्रीहरू उपलब्ध गराएका छन्।प्रविधि तथा उपकरणतर्फ सिने फोकस प्रा.लि.का रजत बुढाथोकीले रेड क्यामेरा, क्लासिक सिने युनिभर्सका दिनेश महराले सोनी EX-3 क्यामेरा तथा वरिष्ठ चलचित्रकर्मी मन्दिल श्रेष्ठगौरीशंकर धुँजुले पुरानो ऐतिहासिक क्यामेरा र ट्राइपोड उपलब्ध गराएका छन्।

त्यसैगरी वरिष्ठ सम्पादक मानबहादुर थापाले सन् १९८० को पानासोनिक एफ–१० क्यामेरा, सोनी कलर मोनिटर, क्यासेट टेप तथा अडियो मिक्सर जस्ता उपकरणहरू सङ्ग्रहालयलाई हस्तान्तरण गरेका छन्।


पोस्टर,अभिलेख र स्क्रिप्टतर्फ पनि उल्लेख्य सामग्री प्राप्त भएको छ। चलचित्रप्रेमी खुमराज पौडेलले ७०४ वटा नेपाली चलचित्रका पोस्टर उपलब्ध गराएका छन् भने Music Nepalका प्रबन्ध निर्देशक उत्तम थापाले १५२ वटा पोस्टर हस्तान्तरण गरेका छन्।साथै आइडियल डिजाइनर्सका सुन्दरलाल श्रेष्ठ, पेज थ्री पत्रिकाका सम्पादक दर्शनवीर शाक्य, हाइलाइट्स नेपालका जनक तामाङ तथा ओएसआरका रुपेन्द्र खड्गीले समेत विभिन्न पोस्टर र आर्टवर्कहरू प्रदान गरेका छन्।

श्रव्य सामग्रीतर्फ कान्तिपुर एफएमले ३४४ वटा चलचित्रका क्यासेट तथा अडियो सीडी उपलब्ध गराएको छ।त्यस्तै वरिष्ठ छायाकार पुरुषोत्तम प्रधानले आफू आबद्ध ६३ वटा चलचित्रका स्क्रिप्ट र लेखक तथा चलचित्रकर्मी नरेन्द्रबहादुर श्रेष्ठले प्रथम चलचित्र अवार्डसँग सम्बन्धित महत्वपूर्ण कागजातहरू प्रदान गरेका छन्।

समारोहमा ऐतिहासिक सामग्री उपलब्ध गराउने सबै व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो।कार्यक्रममा अध्यक्ष दिनेश डिसीले कलाकार, पत्रकार तथा चलचित्र क्षेत्रसँग सम्बन्धित सम्पूर्ण व्यक्तिहरूलाई धन्यवाद दिँदै नेपाली चलचित्रको इतिहास जोगाउने अभियानमा सबैको सहकार्य आवश्यक रहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै