सुनसरी १ का उम्मेदवारलाई बोलाएर आदिवासीको हक अधिकार बारे सामुहिक प्रश्न,हर्क साम्पाङ,गोमा तामाङ लगायत अनुपस्थित – Sagarmathapana:: Online News Portal

सुनसरी १ का उम्मेदवारलाई बोलाएर आदिवासीको हक अधिकार बारे सामुहिक प्रश्न,हर्क साम्पाङ,गोमा तामाङ लगायत अनुपस्थित

   २०८२ फाल्गुन ८ गते  

निमा पोङ्स्युवा

धरान।नेपाल आदिवासी जनजाति नगर महासंघ धरानले सुनसरी जिल्ला क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका उम्मेदवारलाई बोलाएर आदिवासीको हक अधिकार बारे पार्टीको धारणा र उम्मेदवारको प्रतिबद्धता बारे ककस गरेको छ ।

किरात याक्खा छुम्माको केन्द्रिय भवन परिसरमा महासंघले फागुन ७ गते ऐतिहासिक पुरातात्त्विक महत्त्वका बिजयपुर गढी, ग्रामथान,वहुजातिय संग्राहलय ,धार्मिक स्थल तथा आदिवासीको आस्थाका धरोहरको संरक्षण प्रवर्द्धन बारे प्रश्न तथा त्यसलाई बजेट विनियोजन बारे बिजय भएपछि गर्ने बारे प्रतिबद्धता जनाउन लगाएका थिए ।

त्यसैगरी लाहुर्निपले सर्वोच्च अदालतमा अन्तर्राष्ट्रिय महासंधी आई एल ओ १६९ कार्यान्वयन बारे हालिएको रिट सर्वोच्च अदालतले गरेको निर्देशनात्मक आदेश बारे पार्टी र उम्मेदवारको प्रतिबद्धता बारे अर्को प्रश्न अनि धारणा राख्न लगाएका थिए । त्यसैगरी संविधानमा उल्लेख भएको स्वायत्त क्षेत्र,विशेष स्वायत्त क्षेत्र बारे कार्यान्वयनमा उम्मेदवार र पार्टीको धारणा स्पष्ट माग गरेका थिए

कार्यक्रममा स्वतन्त्र बाहेक राजनीतिक दलका उम्मेदवारलाई निमन्त्रणा गरिएका मध्ये ९ जना उम्मेदवार सहभागी भएका थिए । सहभागी भएका उम्मेदवारहरुमा नेकपा एमालेका टीका लिम्बू,काङ्ग्रेसका सुजेन्द्र गोले,नेपाली कम्युनिस्टका मनोज भट्टराई,उज्याले नेपालका जेन्टल लावती,जसपाका नरेन्द्र पार्घरी,जसपा नेपालका सन्जय राई,राप्रपाका उद्ध्वब श्रेष्ठ, मजदुर किसानका महेश श्रेष्ठ,मितेरी पार्टीका रक्षकुमार राई थिए ।

सुनसरी १ मा प्रधानमन्त्रीको दावेदार गर्दै आएका श्रम संस्कृति पार्टीका अध्यक्ष पुर्व मेयर हर्क साम्पाङ भने अनुपस्थित रहे ।त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङ पनि कार्यक्रममा सहभागी थिएनन् । सबै उम्मेदवार घरदैलो कार्यक्रममा ब्यस्त हुँदाहुँदै कार्यक्रममा आफ्ना भनाई प्रतिबद्धता धारणा राखेर घरदैलोमा गएका थिए ।

सहभागी अधिकांशले संविधान संशोधन हुनुपर्ने आवस्यकता रहेको धारणा दिए । सोधिएको र स्पष्ट पार्ने प्रश्नहरुमा अधिकांश सकारात्मक रहेको थियो ।


कार्यक्रममा सहजीकरणको भुमिका लाहुर्निपका गोपाल देवानले गरेका थिए । देवानले ककसको जन्म यसको अन्तर्राष्ट्रिय अभ्यास र नेपालको सन्दर्भ बारे जानकारी दिएका थिए । गोलाप्रथाबाट क्रमश सहभागीको परिचय र उम्मेदवारी दिनको उदेश्य राखिएका थिए । पहिलो ३ मिनेटको समय परिचय उम्मेदवारी बारे र दोस्रो राउन्डमा महासंघले राखिएको ५ प्रश्नको उत्तर दिन ७ मिनेटको समय दिएको थियो ।

कार्यक्रम नगर महासंघ धरानका अध्यक्ष हेमराज जिमि याक्खाको अध्यक्षतामा भएको थियो । अध्यक्ष याक्खाले मन्तव्य सहित ककस गर्नुको औचित्य र उदेश्य बारे प्रकाश पारेका थिए । कार्यक्रम महासंघमा आबद्ध १३ जातिय संस्था युवा महासंघ महिला महासंघका प्रतिनिधिहरु,सल्लाहकार समिति लगायत आदिवासी अभियन्ताको सहभागी थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै