मनाङको हुम्देमा सातौँ आइस क्लाइम्बिङ तालिम,हिमाली पर्यटनमा दक्ष जनशक्ति उत्पादनको लक्ष्य – Sagarmathapana:: Online News Portal

मनाङको हुम्देमा सातौँ आइस क्लाइम्बिङ तालिम,हिमाली पर्यटनमा दक्ष जनशक्ति उत्पादनको लक्ष्य

   २०८२ माघ १४ गते  

काठमाडौं।नेपाल पर्यटन बोर्डले नेपाल माउन्टेन इन्स्ट्रक्टर्स एसोसिएसन (एनएमआईए)सँगको सहकार्यमा मनाङको हुम्दे क्षेत्रमा सातौँ आइस क्लाइम्बिङ लेभल–वान तालिम सुरु गरेको छ । माघ १३ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने तालिम उच्च हिमाली क्षेत्रमै आधारित प्राविधिक र व्यवहारिक अभ्यासमा केन्द्रित रहेको छ ।

तालिमको औपचारिक सुरुवात माघ ९ गते काठमाडौंमा ‘सफ्ट ओपनिङ’ कार्यक्रममार्फत गरिएको थियो । सो अवसरमा सहभागीहरूलाई सैद्धान्तिक ज्ञान, सुरक्षा मापदण्ड र फिल्ड–आधारित तालिमका चुनौतीबारे अभिमुखीकरण गराइएको थियो।

आइस क्लाइम्बिङसम्बन्धी दक्षता अभिवृद्धि, अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डको अभ्यास तथा पर्वतारोहण क्षेत्रमा रोजगारीका अवसर विस्तार गर्नु तालिमको मुख्य उद्देश्य रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार, विश्वस्तरीय, सुरक्षित र व्यावसायिक पर्वतारोहण सेवाको विकास गर्दै हिमाली पर्यटन प्रवर्द्धन गर्ने दीर्घकालीन रणनीतिसँग यो तालिम जोडिएको छ ।

तालिममा ३६ जना सहभागी छन् भने उनीहरूलाई ११ जना अनुभवी तथा प्रमाणित प्रशिक्षकले प्रशिक्षण दिइरहेका छन् । पाठ्यक्रमअन्तर्गत आइस एक्स, क्र्याम्पन, हार्नेस, हेल्मेट, क्याराबिनर, बेलय डिभाइस, स्लिङ र डोरीजस्ता उपकरणको प्रयोग, डोरी फिक्सिङ, एंकर निर्माण, सुरक्षा प्रणाली, उद्धार प्रक्रिया तथा प्राविधिक पर्वतारोहणका व्यवहारिक अभ्यास समावेश गरिएको छ ।

हुम्देमा भइरहेको तालिमको स्थलगत अवलोकन गर्दै बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐयर र प्रबन्धक विमल कँडेलले हिमाली पर्यटनमा दक्ष जनशक्ति उत्पादनका लागि बोर्ड र एनएमआईएको सहकार्य प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।

तालिम सफलतापूर्वक सम्पन्न गर्ने सहभागीहरूले अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणपत्र प्राप्त गर्नेछन् । यसले उनीहरूको व्यावसायिक विश्वसनीयता बढाउनुका साथै नेपाल तथा अन्तर्राष्ट्रिय पर्वतारोहण बजारमा रोजगारीका नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै